बाग्मती

कुखुरा आयातमा रोक लगाएपछि बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह: चितवन विज्ञ केन्द्र

चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।

केन्द्रका प्रमुख डा विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताए । उनले भने, “छिमेकी जिल्लामा बर्डफ्लु छ, देशकै सबैभन्दा बढी उत्पादन हुने चितवन सुरक्षित छ ।” कृषकले जैविक सुरक्षामा सजगता अपनाएका कारण जिल्लामा बर्डफ्लु भित्रन नपाएको उनले बताए । जोखिम नहोस् भन्नका लागि जिल्लाका अधिकांश कृषक सजग रहेकाले जैविक सुरक्षाका कारण जिल्ला सुरक्षित बन्न सकेको बताए ।

केन्द्रले नियमितरुपमा नमूना सङ्कलन गर्ने, जिल्लास्थित प्रयोगशालामा परिक्षण गर्ने र शङ्कास्पद देखिएमा केन्द्रीय प्रयोगशालामा पठाउने काम गरिरहेको छ । कृषकले कुखुरा मरेमा परीक्षणका लागि प्रयोगशालामा ल्याउने गरिरहेका छन् । केन्द्रले हाटबजार र शङ्कास्पद खोरको नमूना लिने काम गरिरहेको छ । ठूलो सङ्ख्यामा कुनै पनि खोरमा कुखुरा नमरेको श्रेष्ठले बताए । एच नाइनका कारण केही कुखुरा मरेका भए पनि सङ्ख्यात्मक रुपमा कुखुरा नमरेको उनले बताए । देशकै आधाभन्दा बढी कुखुराजन्य उत्पादन चितवनमा हुन्छ ।

रोग भित्रिएमा ठूलो नोक्सान हुने भएकाले सकेसम्म भित्रन नदिन र देखिई हालेमा तत्काल केन्द्रलाई खबर गरी सो क्षेत्र घेराबन्दी गरी नष्ट गरेर क्षति कम गर्ने विषयमा कृषकसँग सहमति भएको श्रेष्ठले बताए । बारा, पर्वतलगायत केही जिल्लामा पोल्ट्रीजन्य उत्पादन ओसारपसारमा समस्या देखिएको थियो । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जिल्लामा हालसम्म रोग देखा नपरेको बताए । कृषकले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने उनको भनाइ छ । अण्डा, मासु र चल्ला पु¥याएर फर्कने सवारीसाधनको सरसफाईमा विशेष ध्यान दिन सकेमा रोगबाट जिल्ला वच्ने उनले बताए ।

नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । दैनिक ब्रोइलर मासु आठ लाख ५० हजार किलो उत्पादन हुन्छ । हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला तीन लाख उत्पादन हुँदै आएको छ । यो व्यवसायले एक लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याउँदै आएको छ । हालसम्म पोल्ट्री व्यवसायमा रु एक खर्ब लगानी भएको व्यवसायी बताउँछन् ।