अन्तर्राष्ट्रिय

सरकारमाथि आधारहीन निन्दा गरिएको भन्दै चीनको विरोध

हङकङ । हालै अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ’हङकङ नीति तथा ऐन वार्षिक प्रतिवेदन’मा चीनको केन्द्रिय सरकार तथा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि आधारहीन निन्दा गरिएको भन्दै चीनले यसको विरोध गरेको छ ।

हङकङ विशेष प्रशासनिक क्षेत्रबारे अमेरिकाद्वारा अनावश्यक टिप्पणी गर्नु ठीक नहुने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले बताए ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङले हङकङ मातृभूमिमा समाहित भएपछि ‘एक देश दुई व्यवस्था’, ’हङकङबासीद्वारा हङकङको प्रशासन’ भन्ने सिद्धान्तको व्यवहारिक कार्यान्वयन गरिरहेकोले कानून आधारित हङकङबासीहरूसँगको हक–अधिकार तथा स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिइरहेको बताए । चीन सरकारले अक्षरशः संविधान तथा आधारभूत ऐनको पालना गरिरहेको पनि प्रवक्ता कङले जनाएका छन् ।

प्रवक्ता कङले थपे, “वास्तविकताका वाबजुद चीनको आन्तरिक मामिलाबारे चर्चा गरेको अमेरिकाले सार्वजनिक गरेको सो प्रतिवेदनमा चीनको केन्द्रिय सरकार तथा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि आधारहीन आरोप हो ।” अमेरिकाले हङकङसम्बन्धी विषयमा होसियारीपूर्वक विचार राख्न उनले सुझाव दिए ।