राजनीति

केन्द्रदेखी स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै नेकपाका सयौं नेता/कार्यकर्ता काँग्रेस प्रवेश

पाल्पा । जिल्लामा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ । सत्ताधारी नेकपा र अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने युवाहरुको लर्को लागेको हो । नेपाल राष्ट्रिय मगर संघको प्रदेश पाँच स्तरीय प्रशिक्षण कायक्रममा सत्तारुढ दल नेकपा भ्रष्ट भएको भन्दै सो दलमा क्रियाशील जिल्लाका सयौं युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

जिल्लाका सयौं नव प्रवेशीलाई नेपाली काँग्रेसका पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन समारोहमा पार्टीको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका हुन् ।

तानसेन, रामपुर तथा आसपासका ग्रामीण क्षेत्रबाट आएका सयौं युवाहरुको प्रवेशले काँग्रेसमा नयाँ उर्जा थपेको र उनीहरुलाई व्यवस्थापन गर्ने कार्यलाई पार्टीले नयाँ रणनीति तय गर्ने जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले बताए ।

उनले कम्युनिष्टहरुको काम जनता ढाँट्ने, छल्ने, मिठा मिठा सपना देखाउने भएकाले अब जनताले कम्युनिष्टलाई राम्रैसँग चिनेको धारणा व्यक्त गरे ।

दुई तिहाईको कम्युनिष्ट सरकार भए पनि जनचाहना, जनअपेक्षा अनुसार काम नभएको, अरवौ रुपैयामा भ्रष्ट्राचार बढेको, केन्द्रदेखि प्रदेशसम्म कमिशनतन्त्र बढेकाले अब काँग्रेस पार्टी रोज्नुको विकल्प नरहेको सभापति रानाले बताए ।

जिल्लामा यस अघि पनि नेपाली कांग्रेस पाल्पाले सञ्चालन गरेको क्रियाशील सदस्यता वितरण तथा संगठन विस्तार अभियानमा नेकपा सहित विभिन्न पार्टीबाट सयौं युवाहरु काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेस रिब्दीकोटले सञ्चालन गरेको पहिलो चरणको अभियानमै १ सय २० जना व्यक्तिहरु नेकपा, राप्रपा लगायतका पार्टीहरुबाट काँग्रेसमा प्रवेशका हुन् ।

जनतामा भरोसा र आश्वासन दिएर सत्तामा पुगेपनि जनताको लागि नभएर केही भ्रष्टहरु व्यक्तिका लागि मात्र कामगरेको भन्दै जिल्लामा नेकपाका कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् ।

हाम्रा कुराका अनुसार, पार्टीले भरोसा दिलाउन नसकेपछि ती पार्टीमा क्रियाशील युवाहरु काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गैरेले जानकारी दिए ।