राजनीति

अब बम पड्काउने, मान्छे मार्ने काम बन्द, विकासको अभियान शुरुः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताएका छन् । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान शुरु भएको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढे त्यसले देशलाई आधुनिकतामा लैजाने उल्लेख गर्दै सबैतिर सन्तुलन मिलाएर विकास निर्माणको काम तीव्र बनाइने बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लक्षित गर्दै उनले भने, “कसैलाई बम पड्काउने, मान्छे मार्ने, अशान्ति मच्चाउने काम गर्ने सोचेको छ भने बन्द गर्नुपर्छ, त्यसैले बम पड्काउनेलाई निषेध गरिएको छ । कसैले यस्ता गलत काम गर्छ भने कानूनअनुसार कारवाही हुन्छ ।”

प्रधानमन्त्री ओलीले लुम्बिनीको बृहत्तर हितलाई ध्यान राखेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको जानकारी दिँदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुनुपर्ने छैन भने । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा उडान भर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरु आउने विश्वास व्यक्त गरे ।

लुम्बिनीलगायत यससँग सम्बन्धित क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताउँदै उनले भैरहवा–लुम्बिनी–तिलौराकोटसम्मको सडक विस्तारका लागि काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले भने, “राजमार्गदेखि लुम्बिनी पुग्ने सडक पनि फराकिला बनाउन आवश्यक छ काम थाल्नुस् ।”

उहाँले शिलान्यास गरिएको पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड मात्र नभएर अब सबैतिर नै विस्तार र स्तरोन्नतिको काम अघि बढाइने बताउँदै भने, “सबै सडकलाई विस्तार र स्तरीय बनाइन्छ, विसं २०८० सम्मको वर्ष निर्माणकै वर्ष हुनेछ ।”

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान सरकार स्थापनापछि मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक रुपमा वृद्धि भएकाले यो विकास र समृद्धिको सम्भावना देखिएको बताए । उनले नेपालमा पछिल्ला एक वर्षका अवधिमा चार लाख पर्यटक पढेको र वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउँदा खाद्यान्न लगायतका वस्तुको आयातमा भएको वृद्धि स्वाभाविक भएको बताए । उनले समृद्धिको दिशामा अघि बढ्दा जनतामा निराशा छर्ने काम कतैबाट पनि नगर्न अनुरोध गरे ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि यसको विकासमा पर्याप्त काम हुन नसकेको बताए । उनले लुम्बिनीदेखि तिलौराकोटसम्म पुग्ने सडकको समेत विस्तार गरेर चार लेन बनाउन सङ्घीय सरकारसमक्ष माग गरे । उनले सबै क्षेत्रका जनतालाई विकासको अवसर दिलाउन सरकारले पूर्व पश्चिम रेलमार्गको काम पश्चिमबाट समेत शुरु गर्नुपर्ने माग गरे ।

सङ्घीय संसद्का सांसद तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका काममा पक्ष विपक्षी हुन नहुने बताए । वर्तमान सरकारले विकास र समृद्धिका कामलाई तीव्र गतिमा अघि बढाएको बताउँदै उनले अबको ४ वर्षमा जनप्रतिनिधिका रुपमा जनतासँग अधुरा आयोजना के के छन् भनेर सोधिनेछ भने । आफूले जनतासँग गरेका प्रतिबद्धताअनुसार पूरा गरेरै छाड्ने बताउँदै उनले निर्माण शुरु हुन लागेको बुटवल नारायणगढ सडकखण्डको काम निश्चित समयमा सक्न र गुणस्तरीयतामा विशेष ध्यान जानुपर्नेमा जोड दिए ।

नेता पौडेलले निर्माणकै क्रममा बर्दघाटदेखि दुम्किबाससम्मको दाउन्ने पहाडमा सुरुङ निर्माण गर्न सके उक्त सडकको दूरी छोट्याउन सकिने बताए । उक्त आयोजनाअन्तर्गत बुटवलदेखि नारायणगढको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी ४२ महीनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । सडक स्तरोन्नतिका लागि एशियाली विकास बैंकको सहुलियत ऋण ८५ र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा काम शुरु हुने भएको छ । यसका लागि नेपाल सरकार सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइनाको निर्माण कम्पन्न चाइना स्टेट कन्सट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।

बुटवल नारायणगढ सडकखण्डमा मर्मतसम्भारको काम ४ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने सम्झौता गरिएको छ । उक्त सडकखण्ड हाल दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइनेछ । सडकको दुई÷दुई लेनको बीचको भागमा हरियाली बनाउने गरी योजना नक्साङ्कन गरिएको छ । सडकको मानव बस्ती भएको क्षेत्रमा भने सर्भिस लेनसहित ६ लेनको र जङ्गल क्षेत्रमा चार लेनको हुने बताइएको छ ।