शिक्षा

सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो ।

महिनावारी भएको बेला विभिन्न कारणले विद्यालय नआउने छात्रालाई विद्यालय आउने वातावरण सिर्जना गर्न आवश्यकता अनुसार सेनेटरी प्याडको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए । विशेष गरी जिल्लाको ग्रामीण क्षेत्रमा अझै मधेशी वर्गमा महिनावारी हुँदा लाज मान्ने सो कुरा बाहिर नआउँदा भोलिको दिनमा स्वास्थ्यमानै समस्या देखापर्ने गरेको देखिन्छ ।

महिनावारीबारे आवश्यक जनचेतनासहित विद्यालयमा अध्ययन गर्ने छात्रा र अध्यापन गराउने शिक्षिकालाई समेत आवश्यकता अनुसार सेनेटरी प्याड विद्यालयबाटै प्राप्त गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत झविष्वर रेग्मीले बताए । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाभित्र कूल १९ वटा सामुदायिक विद्यालय रहेका छन् ।