बाग्मती

कुरुप बनेको काठमाडौँ उपत्यका ३० महीनाभित्र भूमिगत निर्माणमा व्यवसायी सँग सम्झौता

काठमाडौँ । अव्यवस्थित प्रसारण लाइनका कारण कुरुप बनेको काठमाडौँ उपत्यकाको प्रसारण प्रणालीलाई आगामी ३० महीनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको छ ।

विद्युत्का पोलका कारण शहरी सौन्दर्य गुमेको तथा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै लामो समयदेखि तार भूमिगत गर्ने माग उठ्दै आएको थियो । संसारका कुनै पनि विकसित देशका शहरमा खुलारुपमा विद्युत् प्रसारण लाइन देख्न सकिँदैन । विद्युतीय दुर्घटनाको जोखिम बढेकाले विद्युतीय तार भूमिगत गर्न लागिएको हो ।

यसका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी केइआई इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ गत फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो । सोही छनोटका आधारमा प्राधिकरणले केही दिन पहिले सो कम्पनीसँग सम्झौता गरेको हो ।

प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्ने तयारी गरेको छ । प्राधिकरणले निर्माण व्यवसायीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार केही दिन पहिले निर्माण व्यवसायीसँग सम्झौता गरिएको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए ।

कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न करीब रु तीन अर्ब ५७ करोड ५१ लाख (कर बाहेक) ठेक्का सम्झौता भएको हो । यस्तै कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करीब रु तीन अर्ब १२ करोड १५ लाख (कर बाहेक) सम्झौता गरिएको छ ।

मध्य तथा उत्तर काठमाडौँ (महाराजगञ्ज) का आयोजना प्रमुख अधिकारीले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता भएको जानकारी दिँदै सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम शुरु गर्ने लक्ष्य तय गरेको जानकारी दिए । कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महीनाभित्र काम सक्नुपर्ने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा काठमाडौँको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोङ्गबु, सामाखुसीलगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित गरिनेछ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान हुनेछ ।

वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक मिटर जडान गर्ने योजना छ । दोस्रो चरणमा काठमाडौँका अन्य क्षेत्र तथा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजनामा प्राधिकरण रहेको छ ।

सडकखन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिने प्राधिकरणको भनाइ छ ।