अन्तर्राष्ट्रिय

अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदाय सँग परामर्श गर्ने

वासिङ्टन । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्श गर्ने भएका छन् ।

उनले अफगास्तिानका लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतहरुसँग भेटवार्ता र परामर्श गर्ने भएका छन् ।
उनले हाल जारी रहेको अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा अफगानिस्तानका लागि ती देशका विशेषदूतहरुसँग भेटवार्ता गर्ने भएका हुन् । अफगानिस्तानको पुननिर्माणका विषयमा ती देशहरुले अफगानिस्तानका लागि आ–आफ्ना विशेषदूतहरु नियुक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिअनुसार अमेरिकी विशेषदूत खलिलजादले उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी अफगानिस्तानमा शान्ति स्थापनाका लागि हाल जारी रहेको प्रक्रियाको बारेमा जानकारी गराई आवश्यक परामर्श पनि लिनुहुने छ ।

अफगानिस्तनमा जारी हिंसा कम गर्नका लागि ती देशहरुले के कस्तो सहयोग गर्न सक्छन् भन्ने विषयका साथै हाल जारी शान्तिवार्ताको प्रक्रियालाई पूर्णता दिन ती देशको भूमिका के हुनेछ भन्ने बारेमा पनि छलफल हुने बताइएको छ ।
विशेषदूत खलिलजादले हालैमात्र दिएको अभिव्यक्तिमा अफगानिस्तानमा शान्तिका लागि जारी प्रक्रिया सकारात्मक रुपमा अघि बढेको बताएका थिए ।

कतारमा हालै भएको तालिबान र अफगान सरकारका प्रतिनिधिसँगको वार्ता सकारात्मक भएको जानकारी उनले हालैमात्र सार्वजनिक गरेका थिए ।

अफगानिस्तानमा शान्ति स्थापना गर्ने पछिल्लो प्रयासस्वरुप त्यहाँ हिंसात्मक विद्रोह जारी राखेका तालिबानहरुसँग वार्ता भइरहेको छ ।

उक्त प्रक्रियाको नेतृत्व अमेरिकाले गरिरहेको छ । केही समयमात्र अघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता भएको थियो ।