बाग्मती

सुनकोशीमा बालक बेपत्ता

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन् ।

फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिए ।

स्थानीयवासी र प्रहरीले राति अबेरसम्म नदीमा खोजतलास गर्दा सुमन नभेटिएकाले आज बिहानैदेखि पुनः खोजी भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सुमनको खोजी गर्न आज गोताखोरको पनि व्यवस्था गरिएको जानकारी दिए ।