अन्तर्राष्ट्रिय

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७

जाकार्ता । इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् । उनीहरूका अनुसार अहिले सम्म बेपत्ता हुनेहरूको संख्या ९३ रहेको छ । उनीहरूको अझै खोजी तथा उद्धारको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । बाढीबाट प्रभावित भएकामध्ये झण्डै सात हजार जनालाई विभिन्न शरणार्थी शिविरहरूमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् ।

बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको बताइएको छ ।