खेलकुद

स्वर्ण पदक विजेता यादवलाई पुरस्कार दिनेको ओइरो

राजविराज । एशियाली एथलेटिक्समा स्वर्ण पदक विजेता राजविराजका अजितकुमार यादवलाई बधाई एवं पुरस्कारको दिनेको ओइरो लागेको छ । हङ्कङमा भएको तेस्रो एशियाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात जितेका यादवलाई पुरस्कारका लागि विभिन्न व्यक्तिले दैनिक घोषणा गर्ने गरेका छन् ।

राजविराज नगरपालिकाको बैठकले यादवलाई सम्मानस्वरुप रु एक लाख एक दिने निर्णय गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । यस्तै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले पनि स्वर्ण पदक विजेता यादवलाई रु ५१ हजार पुरस्कार दिने निर्णय गरेको छ । भव्य कार्यक्रम गरी यादवलाई सम्मान गरिने गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।

जिल्लाका खेलप्रेमी अजितको प्रदर्शनबाट खुशी भएका छन् । सप्तरीको राजविराज नगरपालिका–१२ विषहरियाका यादव हाल राजविराज– ३ मा बस्दै आएका छन् । दिनहुँ बधाई दिनेको ओइरो लाग्ने गरेको उनकी आमा सरिताले बताइन । प्रदेश नं २ सरकारले स्वर्ण पदक विजेता यादवलाई रु पाँच लाख पुरस्कारस्वरुप दिने घोषणा गरेको छ ।