समाचार

प्रधानमन्त्री ओली परिवारसहित कमलपोखरी सिटी सेन्टरमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली बुधबार साँझ उक्त चलचित्र हेर्न गएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।

एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उक्त चलचित्रमा प्रतिभाको पहिचान गर्ने सामथ्र्य बढाउन पनि आवश्यक रहेको देखाएको छ । मुलुकमा कानून र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि चलचित्रले उजागर गरेको छ ।