अन्तर्राष्ट्रिय

इजरायली सेनाको कारबाहीमा दुई प्यालेस्टिनीको मृत्यु

नाब्लुस । इजरायल अधिनस्थ पश्चिम किनारामा इजरायली सेनाले चलाएको गोली लागेर गएराति दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मारिने प्यालेस्टिनीहरुमा २१ वर्षका राइद हमदान र २० वर्षका जाइद नुरी रहेका छन् । उनीहरु प्यालेस्टिनी शहर नाब्लुस नजिकैको धार्मिक स्थल जोसेफ टम्ब आसपास मारिएको बताइएको छ ।

इजरायली सेनाले जारी गरेको एक वक्तव्यमा येहुदी श्रद्धालुहरु जोसेफ टम्ब जानेक्रममा उनीमाथि लक्षित गरी एउटा गाडीबाट विस्फोटक पदार्थले आक्रमण गर्न खोज्दा सेनाले कारबाही गरेको उल्लेख छ । इजरायली पक्षतर्फ कुनै क्षतिको विवरण अद्यापी प्राप्त भएको छैन ।

नाब्लुस शहर इजरायली र प्यालेस्टाइन द्वन्द्वको एक प्रमुख स्थानका रुपमा रहेको छ । येहुदीहरुको विश्वासमा बाइबलमा वर्णित ज्याकोबका १२ औं छोरा जोसेफको जन्मस्थान यही स्थानलाई लिइने गरिन्छ । प्यालेस्टिनी मुस्लिम समुदायले भने इस्लामिक धर्मगुरु शेख युसेर (जोसेफ) ड्वाइकाटको दुई शताब्दीअघि यही स्थानमा दाहसंस्कार गरिएको दाबी गर्दै आएका छन् ।

यो स्थान पश्चिमी किनारामा रहेको प्यालेस्टिनी शरणार्थी शिबिरबाट पनि नजिकमा रहेको छ । पश्चिमी किनारालाई इजरायलले ५० वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ । इजरायली सेनाले नियमित रुपमा यस धार्मिक तिर्थस्थलमा गस्तीका साथ तिर्थयात्रीलाई भ्रमण गराउने गर्दछ ।