कर्णाली प्रदेश

नब्बे दिनभित्र राम्रो योजना बनाए पास नत्र फेल

दैलेख । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइरालाले आङ्गिक क्याम्पस भएका अहिलेका १० वटा क्याम्पसका क्याम्पस प्रमुखलाई सुधार गर्न ९० दिनको समयसीमा(अल्टिमेटम) दिएका छन् ।
नब्बे दिनभित्र राम्रो योजना बनाए तपाईंहरु पास नत्र तपाईहरु फेल । प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्रीको कार्ययोजनाको मूल्याङ्कन गरेझै मैले पनि १० क्याम्पस प्रमुखको कार्ययोजना ९० दिनसम्म मूल्याङ्कन गर्ने छु । कोइरालाले भने ।

अब शैक्षिक व्यवस्थापन, प्रशासनिक चुस्त दुरुस्त, आर्थिक व्यवस्थापन यो कुरा जसले सुधार गर्न सक्दैन उसलाई काँधमा हाल्न नसकिने उनले बताए ।

विसं २०५४ मा स्थापना भएको दैलेखको नारायण क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको मातहतमा सञ्चालन हुनेगरी सरकारी क्याम्पसको मान्यता पाएको सन्र्दभमा औंपचारिक उद्घाटन गर्न दैलेख आएका उपकुलपति कोइरालाले भने , “क्याम्पसको भौतिक पूर्वाधार राम्रो छ, स्थानीय सरकारले गर्ने काम सबै भएको छ । सञ्चालक समितिले गर्ने काम सबै गरेको छ तर प्राध्यापक र शिक्षकले गर्ने काम कुनै पनि भएको छैन् ।”
विसं २०५४ मा स्थापना भएको क्याम्पसमा अहिलेसम्म पढेका पाँच हजार विद्यार्थीमध्ये जम्मा एक हजार ५०० मात्र पास हुनु लाजमर्दो कुरा हो । दैलेखको नारायण क्याम्पसमा अहिले पनि मानविकि पढ्ने विद्यार्थी ४५ जना मात्रै रहेका छन् भने शिक्षक सबैभन्दा धेरै यसैमा रहेका छन् ।

तत्कालीन मध्यपश्चिमका कोहलपुर, बर्दिया, रोल्पा र कर्णाली प्रदेशका दैलेख, सुर्खेत, मुगु, कालिकोट, जाजरकोट, रुकुम गरी सात वटा स्थानमा रहेका विभिन्न क्याम्पसलाई सरकारको मातहतमा रहने गरी आङ्गिक क्याम्पस घोषणा गरिएको छ ।