बाग्मती

प्रहरी आउलान् भनी त्रसित हुँदै भाग्न र लुक्नका लागि तयार

काठमाडौँ । काठमाडौँका मुख्य सडक पेटीमा बिहानदेखि खुद्रा व्यापारीको चहलपहल शुरु हुन्छ । पैदल यात्रु र सवारी साधन चढ्ने र ओर्लनेको जम्काभेट पनि सडकपेटीमै हुन्छ । त्यही क्रममा खुद्रा पसलमा सामग्री किन्ने मोलमोलाई गरिरहेका हुन्छन् ।

व्यापारी भने कतिबेला काठमाडौँ महानगरपालिकाका नगर प्रहरी आउलान् भनी त्रसित हुँदै भाग्न र लुक्नका लागि तयार हँदै व्यापारमा ध्यान दिइरहेका देखिन्छन् । यो एक दिनको नभई काठमाडौँको सडक पेटीमा हरेक दिन देखिने दृश्य हो ।

सडक पेटीमा व्यापार गरी दैनिकी चलाउने व्यापारीले गरी खान दिएनन् भन्दै आएका छन् भने महानगरले सडक कुरुपसँगै यात्रुलाई आवागमन गर्न समस्या भएको भन्दै कारवाही गर्दै आएको छ । बसपार्कमा दश वर्षदेखि फलफूल बिक्री गर्दै आएका हरि खड्काले भने, “पछिल्लो समय व्यापार गरेर खान निकै समस्या छ, महानगरले एकछिन पसल राखेको देखे लगिदिन्छ ।”

गोर्खा घर बताउने खड्का भन्छन्, “लामो समय यही व्यवसाय गरी छोराछोरीलाई पढाइयो, घरखर्च चलाइयो । अहिले महानगरले एकै स्थानमा राख्न पनि दिँदैन । उनीहरुको आँखा, कान छली व्यवसाय गर्नुपर्ने अवस्था छ । प्रतिस्पर्थी बढेकाले पहिले जस्तो आम्दानी पनि छ्रैन ।”

सडक पेटीमा व्यापार गर्नु गैरकानूनी काम भएकाले व्यापार गर्ने जो कोही र जुन स्थानमा गरे पनि कारवाही प्रक्रियामा ल्याउने कामपाको भनाइ छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार कलङ्कीचोक, कालिमाटी, रत्नपार्क, बसपार्कलगायतको स्थानबाट दैनिक ३० जनासम्म सडक पेटीका व्यापारी कारवाहीमा पर्ने गरेका छन् ।

नगर प्रहरीले जफत गरी ल्याएको सामग्रीको आधारमा उनीहरुलाई जरिवाना असुल गरी फिर्ता गर्ने गरिएको छ । कामपामा सङख्यात्मक रुपमा कति सडक व्यापारी छन् भन्ने यकिन जानकारी नभए पनि धेरै स्थानमा पैदल यात्रुलाई आवतजावत गर्न नै समस्या हुने गरी व्यापार गरिरहेका छन् ।

वातावरण निरीक्षक राजेश्वर पौड्यालले साँच्चै काठमाडौँलाई सुन्दर बनाउने हो भने खाली स्थानमा वृक्षरोपण, पार्क निर्माण, आकाशे पुल र अन्य स्थानमा अव्यवस्थित रुपमा राखिएको सूचनापाटी हटाउनु, ढल व्यवस्थापनमा ध्यान दिनुको सधैँ सडक पेटीका पसललाई व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

दैनिक रुपमा बढिरहेको उद्योगधन्दा निर्माणले पनि शहरलाई कुरुप बनाउन थप टेवा पुगेको छ । यसलाई व्यवस्थापन गर्न वातावरण विभागले नियमित अनुगमन गरिरहेको विभागका सूचना अधिकारी सफला श्रेष्ठको भनाइ छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको चुनावी प्रतिबद्धता नै रहेको थियो हरियाली र सँगै सौंन्दर्ययीकरण गर्ने । स्थानीय निर्वाचन भएको डेढ वर्षको अवधिमा पनि उनले भने अनुसारका यी दुबै कार्य भएको अवस्था देखिँदैन ।