प्रदेश 2

स्वास्थ्य बीमाप्रति सर्वसाधारण उत्साहित

लहान । स्वास्थ्य बीमा कार्यक्रम प्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । गत फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दर्ताको कार्य शुरु गरेको हो ।

स्थानीय तहका सम्पूर्ण वडामा बीमितको नाम दर्ता शुरु गरेपछि नाम दर्ता गराउन सर्वसाधारणको भिड लाग्न थालेको स्वास्थ्य बीमा बोर्ड शाखाले जनाएको छ । प्रत्येक वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दर्ताको कार्य भइरहेको बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए ।

सहजकर्ता मार्फत दर्ता भएको बीमितको नामलाई यही महीनाबाट कम्प्युटरमा दर्ता गर्न शुरु गरिएको र अहिले नाम दत्र्ता हुने बीमित्तले आउँदो जेठ महीनाबाट बीमा सेवा पाउने साहले बताए । पाँचजनाको परिवारले वार्षिक रुपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक रु ५० हजारको स्वास्थ्य बीमा पाउने व्यवस्था छ । पाँचजना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक रु ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा रु १० हजार थपिने छ ।