बाग्मती

राष्ट्रिय गौरवका आयोजनाले गति नलिनुमा एउटा मात्रै कारण छैन: सभापति थापा

चितवन । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय गौरवका आयोजनाले गति नलिनुमा एउटा मात्रै कारण नरहेको बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आयोजना प्रमुखको फेरबदर, झन्झटिलो खरीद प्रक्रिया र भुक्तानीका कारण आयोजनाले गति लिन कठिन भएको बताईन् ।

समितिले राष्ट्रिय गौरवका २१ आयोजनालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै उनले समितिका सदस्यलाई आयोजना छुट्याएर समस्या पहिचान गर्न जिम्मेवारी दिइएको बताईन् । नीतिगत रुपमा देखिएका समस्या समाधान गर्नुपर्ने भन्दै उनले त्यसतर्फ समितिले काम गरिरहेको जानकारी दिईन्।

आयोजनाको स्थलगत अध्ययन र छलफल कार्य तीव्र गतिमा अगाडि बढाइरहेको पनि उनले बताईन् । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएको उनले जानकारी दिइन्।

सरकारका तीन तहबीच अझै पनि समन्वयको अभाव देखिएको बताउँदै सभापति रावलले तल्लो तहमा अनुभवी र पुराना कर्मचारी पठाउनु पर्नेमा त्यो हुननसकेको बताईन् । सङ्घ मातहत रहेका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीलाई प्रदेश सरकारसँग कहीँ न कहीँ जोड्नुपर्ने उनले बताईन् । सङ्घ मातहका कर्मचारी र प्रदेश सरकारबीच समन्वयको अभाव देखिएको उनले बताईन् ।