कर्णाली प्रदेश

कारागार प्रशासनबाट कैदीबन्दीहरु माथि दुव्र्यवहार हुने गरेको गुनासो

जुम्ला । जिल्ला कारागारका कैदीबन्दीले प्रहरी तथा कारागार प्रशासनबाट आफुहरु माथि दुव्र्यवहार हुने गरेको गुनासो गरेका छन् । कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी दुव्र्यवहार गरेको कैदीबन्दीको आरोप छ ।

मादक पदार्थ सेवन गरी दुव्र्यवहार गर्ने खड्काको सरुवा हुनुपर्ने माग राख्दै उनीहरूले कारागारमा भित्रपट्टिबाट तालाबन्दी गरी यही चैत ४ गतेदेखि हडताल शुरु गरेको जनाएका छन् । औषधोपचारजस्ता अत्यावश्यक सेवामा कारागार प्रशासनले लापरवाहीसमेत गर्ने गरेको उनीहरूको आरोप छ ।

कैदीबन्दीलाई दुव्र्यवहार गरिएको भन्ने विषयमा राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यानाकर्षण भएको जुम्ला कार्यालयका अधिकृत सुरबहादुर परियारले बताए । उनले भने, “प्रहरीले मदिरा सेवन गरे नगरेको स्वास्थ्य परीक्षण प्रतिवेदन मागेका छौँ ।” आयोगले पनि कारागारमा गएर स्थलगत अनुगमन गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक प्रकाश केसीले कैदीबन्दी र प्रहरीबीच एकापसमा केही विवाद भएको सुनिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । ‘ङ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता २०० को छ । कारागारमा हाल ५९ कैैदी र २० जना थुनुवा गरी ७९ जना छन् । सशस्त्र द्वन्द्वका क्रममा २०५९ कात्तिक २८ गते तत्कालीन माओवादीले ध्वस्त पारेको जिल्ला कारागार शान्ति स्थापनापछि पुनःनिर्माण गरिएको हो ।