पत्रपत्रिका

प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मुठभेड, ४ जना पक्राउ, हतियारसहित एकजना फरार

काठमाडौँ । मंगलबार राति काभ्रेको रोशी गाउँपालिका १ काफल डाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच मुठभेड भएको प्रहरीले दाबी गरेको छ । केही समय अघि उपत्यकाको विभिन्न स्थानमा एकजना सर्वसाधारणको ज्यानसमेत जाने गरी भएका बिस्फोट अनुशन्धानको क्रममा प्राप्त सूचनाका आधारमा काभ्रे पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको बताइएको छ।

नेकपा समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गएको अपराध महाशाखा टोलीमाथि उनीहरुले फायर खोलेको दाबी प्रहरीको छ। त्यसपछि प्रहरीले पनि फायरिङ गरेको दाबी छ।

उक्त टोलीले राति अबेरसम्म खानतलासी गरी चारजनालाई पक्राउ गरी काठमाडौं ल्याएका छन्। यद्यपी हतियारसहितको कार्यकर्ता भने फरार भएको बुधबार बिहान ४ बजे मात्रै काठमाडौं फर्किएका राठौरले जानकारी दिएका छन्। उनको अनुसार पक्राउ परेका कसैले पनि आफ्नो पहिचान खुलाउन मानेका छैनन्।

मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो। त्यसयता सुरक्षा निकायले उसको गतिविधिमा निगरानी बढाएको छ। कान्तिपुरबाट साभार