समाचार

नकारात्मक र प्रतिशोधको भवनाबाट समाचार सम्प्रेषण गर्न बन्द गरौँ– मन्त्री शाह

मार्तडी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारले गरेका सकारात्मक कामको प्रचार र सकारात्मक आलोचना गर्न आग्रह गरेका छन् । उनले जहिल्यै नकारात्मक र प्रतिशोधको भवनाबाट समाचार सम्प्रेषण गर्नुभन्दा सकारात्मक आलोचना गरे प्रदेश सरकारलाई त्रुटि सच्याउँदै अघि बढ्न सहज हुने बताए ।

मन्त्री शाहले सङ्घीय सरकारको कर्मचारी समायोजन कार्यमा ढिलाइ हुँदा प्रदेश सरकारको बजेट खर्चमा समस्या आएको बताए। कर्मचारी समायोजन कार्य ढिलाइ भएकाले समयमै विनियोजन गरिएको प्रदेश सरकारको बजेट खर्च हुन नसकेको उनको भनाइ थियो ।

मङ्गलबार नेपाल पत्रकार महासङ्घ बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश सरकारले सुदूरपश्चिमका नौ वटै जिल्लाको विकास निर्माण र जनतालाई सहजरूपमा सेवा दिने गरी काम गर्न लागेको बताए । “गौरवका आयोजना ल्याएर पर्यटकीय क्षेलाई प्रवद्र्धन गर्ने दिशामा सरकार उन्मुख छ”, उनले भने ।

उनका अनुसार प्रदेश सरकारले १८ कानून पारितपछि सञ्चार नीति ल्याउने तयारी गरेको छ । सरकारले सञ्चार नीतिबाटै प्रदेशमा रहेका श्रमजीवी पत्रकारलाई सहयोग गर्ने, विज्ञापनमा एकरुपता ल्याउनेजस्ता कार्यविधि बनाउन थालेको उनको भनाइ थियो ।

मन्त्री शाहले दुर्गममा स्थानीयवासीको समयमै उपचार होस् र अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले सरकारले विकट पहाडी जिल्लाका लागि अत्याधुनिक सेवासहितको एम्बुलेन्स खरीद र हवाई उद्धार कार्यक्रम ल्याएको जानकारी दिए ।