राजनीति

नेपालमा नेकपा एकमात्र शक्तिशाली पार्टी – पूर्वप्रधानमन्त्री खनाल

काभ्रेपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताए । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा मंगलबार काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताए ।

उनले भने, “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल हो ।” उनले नेकपाले शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै आएको र सहयोग गर्ने प्रतिबद्धता जनाए । पूर्वप्रम खनालले ७० को दशक पार्टी एकीकरण र शुद्धिकरणको दशक भएको बताए । “पार्टी एकताको विकल्प छैन”, उनले भने, “अब नेकपा एक भएर ठूलो शक्तिका रुपमा स्थापित हुन्छ, नेपालमा अब यो बाहेक कुनै शक्तिशाली पार्टी हुँदैन ।” उनले पूँजीवादबाट मुक्त हुन नेतालाई आग्रह गरे ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केको केही दिनमै पार्टी एकताको टुङ्गोे लाग्ने बताए । उनले भने, “राजनीतिक प्रतिवेदन पनि तयार हुँदैछ, अध्यक्ष कमरेड आएपछि सबै टुङ्गो लाग्नेछ ।”

पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शहीदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षार्थ संस्थागत गर्नुपर्ने बताए । उनले भने, “एकताबद्ध भएर प्राप्त उपलब्धीलाई संस्थागततर्फ लाग्नुपर्छ ।” नेकपा स्थायी समिति सदस्य मणि थापाले जनताभन्दा ठूलो कुनै शक्ति नभएकाले जनताकै शक्तिलाई सर्वोपरी मान्नुपर्ने बताए ।

नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, प्रदेश सांसद लक्ष्मण लम्साल, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री, संयोजक खगेन्द्र राई र कोषाध्यक्ष प्रगति महराले शहीदको योगदानबारे चर्चा गरे ।

स्रष्टा सम्मान

जनसांस्कृतिक महासङ्घ नेपालद्वारा आज काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान आयोजना गरी विविध विधाका आठ जना स्रष्टालाई सम्मान गरिएको छ ।

कार्यक्रममा नेता खनालले दीर्घ सेवातर्फ जेबी टुहुरे, सङ्गीततर्फ खुसीराम पाख्रिन ‘मरणोपरान्त’, साहित्य कन्ता शर्मा, चलचित्रतर्फ प्रेम सुब्बा, नाटकतर्फ कृष्णभक्त महर्जन, गायनतर्फ कर्णबहादुर परियार ‘विद्रोही’, ललितकलातर्फ नगेन्द्र भण्डारी र नृत्यतर्फ शान्ति कठायत ‘प्रतिक्षा’लाई सम्मान गरे ।

महासङ्घले सशस्त्र द्वन्द्वताका २०५५ साल चैत ५ गते अनैकोटस्थित एक घरमा बसिरहेका बेला सुरक्षाकर्मीको गोलीबाट जनकलाकार च्याङ्वा लामा, चिनिमाया लामा, गुम्बासिं तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र मञ्जु कुँवरको मृत्यु भएको सम्झनामा अनैकोटमा शहीद दिवस मनाउँदै आएको छ ।

उनीहरुको सम्झनामा राखिएको शहीद–स्तम्भको पूर्वप्रम एवं वरिष्ठ नेता खनालले आजै अनावरण गरे । कार्यक्रममा शहीदसम्बन्धी गीत, नृत्य तथा कविता प्रस्तुत गरिएको थियो ।