प्रदेश 1

बहुविवाहको अभियोगमा जोडीलाई जेल चलान

भोजपुर । जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ ।

अदालतले रामप्रसाद राई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महीना कैद, रु १५ हजार जरिवानासँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ बमोजिम कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम सजाए तोकेको हो । लालबहादुरले निर्मलालाई गत माघ ३ गते दोस्रो श्रीमतीका रुपमा विवाह गरेका थिए । उनीहरुलाई जेठी श्रीमती प्रमिला दर्जीको जाहेरीपछि गत माघ १० गते पक्राउ गरिएको थियो ।