बाग्मती

दक्ष जनशक्ति उत्पादनका लागि प्रशिक्षण प्रणालीलाई थप परिष्कृत बनाइने

काठमाडौँ । नेपाल प्रहरीको प्रशिक्षण प्रणालीलाई परिष्कृत बनाइने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई समयसापेक्ष बनाउन दक्ष जनशक्ति उत्पादनका लागि प्रशिक्षण प्रणालीलाई थप परिष्कृत बनाइने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आव २०७६/७७ को तालीम योजना निर्माणसम्बन्धी आयोजित चार दिने गोष्ठीको आज समापन कार्यक्रममा प्रशिक्षण प्रणालीमा सुधार ल्याउन गोष्ठीका निष्कर्ष महत्वपूर्ण र फलदायी हुने उल्लेख गर्दै उनले आएका निष्कर्ष र योजनालाई उच्च प्राथमिकताका आधारमा लागू गर्दै जाने उल्लेख गरे ।

प्रहरी सेवाप्रति निष्ठावान् जनशक्ति उत्पादन गर्न तालीम प्रदायक निकायहरुले तालीमको सामग्री, पाठ्यक्रममा विशेष ध्यान दिनुपर्ने उनले बताए । नियमित गतिविधिलाई थप परिमार्जन गरी नयाँ रचनात्मक विषयवस्तु समावेश गरी वार्षिक तालीम योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

उनले तालीम केन्द्रले आवश्यकताअनुसार इलाइब्रेरी, तालीमका लागि सहयोग सामग्री, भिडियो कन्फ्रेन्स लगायतलाई उचित प्रयोग गरी तालीम दिनुपर्ने उल्लेख गरे । सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले गोष्ठीको सारसङ्क्षेप प्रस्तुत गर्दै मुलुकको बदलिँदो सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आत्मबलयुक्त, निर्भिक बनाउनेतर्फ ध्यान दिएको बताए ।