बाग्मती

एकीकृत बस्ती निर्माणका लागि जग्गा व्यवस्थापन सम्पन्न

रसुवा । विसं २०७२ को भूकम्पबाट विस्थापित परिवारलाई एकीकृत बस्ती निर्माण गर्न पहिलो चरणको जग्गा व्यवस्थापन सम्पन्न भएको छ । उत्तरगया गाउँपालिका वडा नं १ का वडाध्यक्ष बमबहादुर तामाङका अनुसार भूकम्पले बस्ती जोखिममा परी आफ्नो थातथलो छाड्नुपरेकामध्ये पहिलो चरणमा ११८ घरपरिवारलाई नमूना एकीकृत बस्ती निर्माणका लागि गाउँपालिकाले तिरू भन्ने स्थानमा ५९ रोपनी जमीन व्यवस्था गरेको हो ।
एकीकृत बस्ती निर्माणका मालसामान ढुवानीका लागि मैलुङदेखि तिरूसम्म करीब ९ किमी सडक निर्माण गर्ने काम अगाडि बढिरहेकाले व्यवस्थापन गरिएका जग्गामा एक महिनापछि नमूना एकीकृत बस्तीको काम अगाडि बढ्ने बताइएको छ । खरीद गरिएका जग्गामा भूकम्प प्रभावितलाई स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत्, मोटर बाटो, तामाङ सङ्ग्रहालय, बाल बाटिकासहितको आधारभूत आवश्यकता परिपूर्ति हुने संरचनासहित पुनर्वास गराइने वडाध्यक्ष तामाङले बताए ।
जग्गा व्यवस्थापनका लागि आफू र भूमि अधिकार मञ्च तथा सिआरसी नामक गैसस एक वर्षसम्म अह्रोरात्र खटेको वडाध्यक्ष तामाङले जिकिर गए। उनका अनुसार जग्गा व्यवस्थापन काममा प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ र उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालको उल्लेखनीय सहयोग छ ।
भूकम्पको असरले साविक हाकु गाविस वडा नं ८ र ९ हाल उत्तरगया –ं१ गोगने तिरूका करीब ५०० घरपरिवार थातथलो छाडी बेत्रावतीको खाल्टे बगरलगायत विभिन्न स्थानमा कष्टकर जीवन बिताइरहेका छन् । उनीहरूलाई सहज जीवनमा फर्काउन एकीकृत बस्ती निर्माणको प्रक्रिया अगाडि वढाइएको हो । रसुवा जिल्लाकै इतिहासमा तिरू क्षेत्रमा नमुना बस्ती तयार हुने वडाध्यक्ष तामाङले जिकिर गरे । तिरू क्षेत्रमा एकीकृत बस्तीपछि पर्यटकीय क्षेत्रको विकास गर्न आफूले पहल गर्ने सांसद आचार्यले प्रतिबद्धता व्यक्त गरे ।