बाग्मती

व्यक्तिले चाहे उपनामबाटै नागरिकता लिन पाउने

काठमाडौँ । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो ।

थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा आजको बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिए । यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिङ्गीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जनाएको छ । महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको भने हुनुपर्नेछ ।

समितिले ऐन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकता जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्रुटी सच्याउन पाउने व्यवस्था गरेको छ ।

यसैगरी यसअघि नागरिकता प्राप्त गरिसकेको व्यक्तिको हकमा पनि ऐन जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्यस्ता त्रुटीसमेत सच्याउन सक्नेछन् । यस्तै नागरिकतामा हुन सक्ने सामान्य त्रुटीहरु वा आकार इकारमा फरक परेमा त्यस्ता समस्यामा पनि जुनसुकै समयमा सच्याउन सक्ने विषयमा समितिले सहमति जुटाएको छ ।

बहादुर, प्रसाद , नाथ, देवीजस्ता बीचको नाम जनाउने विषय बढी भए वा थप गर्नुपरे त्यस्ता समस्या सच्याउन सकिने निर्णय गरेको हो । समितिको बैठकमा नागरिकताका अन्य धेरै विषयमा छलफल भए पनि अन्य विषयमा समेत सहमति जुट्न सकेन ।