बाग्मती

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली आरोपमा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत मिथिलेशकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा बहाल रहेको र सो कार्य भ्रष्टाचारजन्य क्रियाकलाप भएको आयोगको ठहर छ । यस्तै सुलीचौर नगर विकास समिति रोल्पाका अध्यक्ष प्रकाश घर्तीमगरको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने अरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अध्यक्ष घर्ती सार्वजनिक पदमा बहाल रही लाभसमेत लिएको देखिएको आयोगको आरोप छ ।