बाग्मती

पुरातात्विक सम्पदाका समस्या अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक सम्पदामा देखिएका समस्या अध्ययन गर्न ‘विश्वसम्पदामा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ गठन गरेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हनुमानढोका क्षेत्रमा देखिएका समस्या सम्बन्धमा छलफल गर्न बोलाइएको समितिको आजको बैठकले सांसद सुजिता शाक्यको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा सांसदहरु नारदमुनी राना, बोधमायाकुमारी यादव र सुदन किराँती राई रहेका छन् भने एक जना चयन गर्न बाँकी रहेको समिति सभापति पवित्रा निरौला (खरेल) ले बताए । उपसमितिलाई काठमाडौँ उपत्यकाका सबै सम्पदा क्षेत्रमा देखिएका समस्याका बारेमा अध्ययन गरी प्रतिवेदन तयार गर्न तीन महीनाको अवधि निर्धारण गरिएको छ ।

बैठकमा सभापति खरेलले पुरातात्विक सम्पदा क्षेत्रको पुनःनिर्माणका क्रममा देखिएका समस्याका बारेमा उठेका विषयवस्तु गम्भीर भएकाले थप अध्ययन गर्न उपसमिति गठन गरिएको जानकारी दिए । संस्कृति नै हाम्रो सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै उहाँले पुर्खाले निर्माण गरेका सम्पदालाई जस्ताको तस्तै पुस्ताहस्तान्तरण गर्नुपर्ने बताए ।

महर्जन कम्लेक्स भत्काउनुपर्छ

बैठकमा हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मी, सम्पदा बचाउ अभियानका अभियानकर्मी गणपति श्रेष्ठ, कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपाने लगायतले सहरी क्षेत्रका सम्पदा क्षेत्र अतिक्रमण गरेर निजी घर निर्माण तिब्र रुपमा भइरहेको सम्बन्धमा समितिको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले सम्पदाको पुनःनिर्माण गर्दा व्यापारिक प्रयोजनका लागि नभई जस्ताको त्यस्तै मौलिक ढाँचामा बनाउनुपर्ने सुझाव दिए । उनीहरुले हनुमानढोका क्षेत्रको पूर्वतर्फ निर्माणाधिन महर्जन कम्प्लेक्सले सम्पदा क्षेत्रलाई असर गर्ने गरी मापदण्ड मिचेर जमीनमुनी पार्किङ र बेसमेन्ट बनाएको तथा संरक्षित क्षेत्रको नियमविपरित ३५ फिटभन्दा बढी अग्लो बनाउन लागेको तथ्य पेश गरे ।

महर्जन कम्प्लेक्सले सम्बन्धित सरकारी निर्देशनको समेत पटकपटक अटेर गर्दै आएको सम्बन्धित सरकारी निकायको आरोप छ । बैठकमा पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले कानून मिचेर सम्पदा क्षेत्रलाई असर पार्ने गरी महर्जन कम्प्लेक्स निर्माण गरेको भए डोजर लगाएर भत्काउनुपर्ने बताए ।

साथै उनले नियम कानूनभन्दा माथि कोही नहुने भन्दै सम्पदाको पुनःनिर्माण गर्दा मौलिक शैलीमा जस्ताको त्यस्तै बनाउनु्पर्ने धारणा व्यक्त गरे । सांसदहरु सुजिता शाक्य, नारदमुनी राना, चाँदतारा कुमारी, मोहन बानियाँ, सरिता गिरी, रेनुका गुरुङ, दिव्यमणि राजभण्डारी र सरलाकुमारी यादवले पनि सम्पदालाई असर गर्ने गरी मापदण्ड मिचेर महर्जन कम्प्लेक्स निर्माण गरेको भए तुरुन्त भत्काउनुपर्नेमा जोड दिए ।

धार्मिक सांस्कृति सम्पदाको पुनःनिर्माणका लागि वैदेशिक सहयोग लिँदा सोच्नुपर्ने बताउँदै सम्बन्धित सम्पदाका गुठीको सम्पत्ति परिचालन गर्नुपर्नेमा समिति सदस्यहरुको जोड दिए । बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा वरिपरी क्षेत्रमा अग्ला भवन निर्माण गर्न नहुने, कानूनी मापदण्डलाई कडाइका साथ लागु गर्नुपर्ने र सम्पदाको पुनःनिर्माण पुरानै ढाँचामा गरी संरक्षण गर्नुपर्नेमा जोड दिईएको थियो ।

कानूनको परिधिभित्रै रहेर कम्प्लेक्स निर्माण

महर्जन कम्प्लेक्सका अध्यक्ष कृष्णलाल महर्जनले रासससँग कुरा गर्दै कानूनको परिधिभित्रै रहेर कम्प्लेक्सको भवन निर्माण गरेको दाबी गरे । कम्प्लेक्सको नक्सा हाल चार तलाको मात्र पास भएको र सोहीअनुसार निर्माण गर्दा ३१ फिटसम्म मात्र उचाइ रहेको अध्यक्ष महर्जनको जानकारी दिए ।

सर्वोच्च अदालतको पछिल्लो आदेशले पुरानो घरको संरचनाअनुसार ५३ फिटसम्म जान सकिने बाटो खुलेको उनको भनाइ थियो । कम्प्लेक्स निर्माणका क्रममा डोजर प्रयोग गर्दा सम्पदा क्षेत्रका पोखरीको पानी सुकेको र कम्प्लेक्सको बेसमेन्टदेखि हनुमानढोका दरबार क्षेत्रको राष्ट्रिय ढुकुटीसम्मको दूरी नौ मिटरको मात्र रहेकोले पनि सुरक्षामा समेत खतरा रहको दरबार हेरचाह अड्डाको भनाइ छ ।

बैठकमा पुरातत्व विभागका कामु महानिर्देशक दामोदर गौतमले भूकम्पले क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणको अवस्थाबारे जानकारी गराउँदै हालसम्म २८ प्रतिशत कार्य सम्पन्न भएको बताए ।

यस वर्ष ३० प्रतिशत पुनःनिर्माण सम्पन्न हुने र बाँकी आगामी दुई वर्षमा सकिने उनले जानकारी दिए । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले आफूहरुले सरकारी मापदण्डअनुसार नै नक्सा पास गर्ने गरेको बताउँदै सम्पदा पुनःनिर्माण र संरक्षण कार्यलाई महत्वमा राखेको बताए ।