प्रदेश 1

घर भत्कने भएपछि मदन भण्डारी राजमार्ग निर्माण अवरुद्ध

गाईघाट । सुनसरीको चतरा हुँदै उदयपुरको गाईघाट, सिन्धुली, हेटौँडा भएर राजधानी काठमाडौँ जोड्ने मदन भण्डारी मार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेमा सडक विस्तार गर्ने क्रममा चुहाडेको ज्योति उच्च माविसहित स्थानीयवासीको दर्जनौँ घरहरु नै भत्कने भएपछि तीन दिनदेखि सो मार्गको निर्माण कार्य अवरुद्ध भएको छ ।

मदन भण्डारी वैकल्पिक राजमार्ग निर्माण तथा विस्तार गर्ने क्रममा त्रियुगा नगरपालिकाको चुहाडे खण्डमा सडक विस्तार गर्ने क्रममा ज्योति उच्च माविको भवन पूर्णरुपमा भत्कने र स्थानीयवासीको घर समेत भत्कने क्रममा चालीसौं करोड रुपैयाँ नोक्सानी हुने कारण विद्यालय तथा स्थानीयवासीले मुआब्जा माग गरेपछि सडक विस्तार बन्द हुन पुगेको हो ।

ज्योति उच्च मावि चुहाडे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर दनुवारले सडक विस्तार क्रममा विद्यालयको रु पाँच करोडभन्दा बढीको भवन पूर्णरुपमा नष्ट हुने र स्थानीयवासीको दर्जनौँ घर भत्कने कारण पहिला मुआब्जा व्यवस्थापन नगरी सडक विस्तार गर्न नहुने बताए ।

यस्तै ज्योति उच्च माविका शिक्षक राजेश कार्कीका अनुसार तत्काल विद्यालयसमेत भत्कने र गाउँको एकदर्जन घर भत्कने कारण विद्यालय कहाँ सञ्चालन गर्ने र गाउँले कहाँ बस्ने सो व्यवस्था नभई सडक विस्तार गर्न नहुने कारण मुआब्जा व्यवस्थापन हुनपर्ने धारणा कार्कीको छ ।

अर्का स्थानीय सानुका दनुुवार भन्छन्, “मनपरी सडक नाप गरेर आफूहरुको गाउँ टोल नै उड्न लाग्यो, सडक निर्माण कम्पनीले मुआब्जा नदिने हो भने आफूहरु कहाँ गएर बस्ने, केमा बस्ने, पुस्तौं पूर्खाको पालादेखि बस्दै आएको घर नै भत्कने हो र मुआब्जा नहुने हो भने आफूहरु सडक निर्माण अगाडि बढ्न दिन सक्ने अवस्थामा रहेका छैनौँ ।”

धरान, गाईघाट, सिन्धुली, हेटौँडा खण्डको पूर्वी सडक खण्ड हेर्ने कार्यालयका प्रमुख ललितजङ्ग खनालका अनुसार अहिले चुहाडे खण्डमा सडक विस्तारमा समस्या देखिएर अवरुद्ध भएको बताउनुभयो । आफूहरुले नेपाल सरकार र सम्बन्धित मन्त्रालय तथा विभागसँग समस्याको विषयमा छलफल गरिरहेकाले विद्यालय भवन तथा स्थानीयवासीको घरजग्गाको मुआब्जाको बारेमा चाँडै समस्या समाधान हुने खनाल बताउँछन् ।

सडक निर्माण कम्पनी जेडआइसी शर्मा, लामा कम्पनीका सञ्चालक छिरिङ शेर्पाका अनुसार आफूहरुले भने मुआब्जा उपलब्ध गराउन नसक्ने धारणा राखे । चुहाडे, गाईघाटसहितका स्थानीयवासी जनताले भने सडक विस्तार गर्ने क्रममा सडक निर्माण कम्पनीले मनपरी सडक सर्भे र विस्तार गर्दा सरकारी कार्यालय भवन, विद्यालय र सर्वसाधारणका घर भत्काउन पर्ने अवस्था आएको यस क्षेत्रका आम स्थानीयवासीले आरोप लगाएका छन् ।

यता निर्माण कम्पनीले भने सडकको सर्भे र नक्साअनुसार नै सडक निर्माण र विस्तार भइरहेको कारण आफूहरुको कुनै गल्ती नभएको दाबी गरेका छन् । अहिले सो कम्पनीले सुनसरीको चतरा, उदयपुरको गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४४ किलोमिटर सडक निर्माण गर्ने पुल निर्माण गर्ने र कालोपत्रे गर्ने कार्य समेत शुरु गरिसकेको छ ।

मदन भण्डारी वैकल्पिक राजमार्गअन्तर्गत पूर्वीखण्ड निर्माणका लागि लागि रू छ अर्बको बजेटमा सडक विस्तार, पुल निर्माण कार्य भइरहेको निर्माण कम्पनीले बताएको छ । अहिले त्रियुगा नगरपालिकाको चुहाडेदेखि गाईघाट बजार क्षेत्रमा समेत सडक विस्तारमा स्थानीयवासीको धेरै घर भत्कने र मुआब्जा व्यवस्थापन गर्नुपर्ने अवस्था आएपछि सडक विस्तार कार्य रोकिएको छ ।