अन्तर्राष्ट्रिय

नेदरल्यान्ड्स प्रहरीद्वारा ट्रामका शंकास्पद आक्रमणकारी पक्राउ

उट्रेख्ट । नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ । टर्की मुलका ती अधवैंशे व्यक्तिले आतङ्कवादी आक्रमण गरेको आशंकामा छानबिन थालिएको प्रहरीको भनाई छ । उक्त आक्रमणमा अरु पाँच जना गम्भीर घाइते भएका थिए ।

प्रहरीले टर्की मुलका ३७ वर्षीय गोकमिन टानिसलाई व्यापक खोजतलास पछि पक्राउ गरेको हो । प्रहरीले शंकास्पद टानिसको फोटो सार्वजनिक गरी पक्राउका लागि सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो । हातहतियारले सुुसज्जित प्रहरीले फरार रहेका टानिसलाई एउटा घरमाबाट पक्राउ गर्नुअघि उट्रेख्ट शहरका मस्जिद र विद्यालयहरु बन्द गरिएका थिए । उट्रेख्ट नेदरल्यान्ड्सको चौथो ठूलो शहर हो ।

नेदरल्यान्ड्सका अधिकारीहरुले आक्रमणको वास्तविक कारण बारे अनुसन्धान गरिरहेको बताएका छन् । प्रधानमन्त्री मार्क रुटले पारिवारिक विवाद समेत अरु कारणबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए। नगरका प्रमुख जाँ भान जानेनले यो घटना “उट्रेख्टका लागि कालो दिन” का रुपमा रहेको बताउँदै घटनाको प्रारम्भिक अनुसन्धानले आक्रमणकारीले आतङ्कवादी कार्य गरेको देखिएको जानकारी दिए ।

उट्रेख्टको २४ ओक्टोबरप्लाइन नजिक रोकिराखेको ट्राममा एकाएक गोली चलेको आवाज आएको थियो । मानिसहरु ट्रामबाट भागदौड गरेसँगै तत्कालै प्रहरी घटनास्थल पुगेको थियो । आक्रमणकारीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने अरु केही घाइते भएका थिए । उट्रेख्ट आक्रमणसँगै विमानस्थल र अरु सरकारी कार्यालयहरुमा उच्च सतर्कता अपनाइएको छ । न्यूजील्यान्डको मस्जिदमा भएको भिषण आक्रमणमा ५० जनाको मृत्यु भएको केही दिनभित्रै उट्रेख्टमा गोली चलेको हो ।