बाग्मती

सिसी क्यामेरा एकै ठाउँमा जोड्दै

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका मुख्य शहर बनेपा, पनौती र धुलिखेलको विभिन्न शहरमा जोडिएका र जोडिन लागेका सबै सिसी क्यामेराको नियन्त्रण अब एकै ठाउँबाट गरिने भएको छ ।

मुख्य शहरमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलापको निगरानीलाई अझ मजबुद र छिटो छरितो बनाउनका लागि यसरी एउटै ठाउँबाट निगरानी गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका प्रहरी प्रमुख रविराज खड्काले बताए ।

यसअघि पनौतीका बजारमा राखिएको सिसी क्यामेरा प्रहरीचौकी पनौती र बनेपामा राखिएका सिसी क्यामेरा इलाका प्रहरी कार्यालय बनेपाले निगरानी गर्दै आइरहेको छ । खड्काले भन्नुभयो, ‘‘धुलिखेल नगरपालिकाभित्रका सडक वरिपरि सिसी क्यामेरा राख्ने भन्ने कुरा आएपछि बनेपा र पनौतीमा सञ्चालन भइरहेको सिसी टिभीलाई पनि केन्द्रीकृत गर्दै एकै ठाउँबाट निगरानी गर्ने भन्ने कुरा आएपछि त्यसलाई व्यवस्थित गर्ने गरी काम अगाडि बढिरहेको छ ।’’

बैंक, होटल, उद्योग वाणिज्य सङ्घ र सरोकारवाला निकायसँग सहकार्य गरी मुख्यमुख्य ठाउँमा राखिएको सिसी क्यामेरा सबै प्रहरीकै सञ्जालमा हालेर एकै ठाउँमा ल्याउने गरी काम अगाडि बढिरहेको प्रहरी प्रमुख खड्काले बताए ।