गण्डकी प्रदेश

घर नक्सापासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण गराउने काम शुुरु

पोखरा । पोखरा महानगरपालिकाले घर नक्सापासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण गराउने काम शुुरु गरेको छ । साविक लेखनाथ नगरपालिका एवं हाल पोखरा–२७ मा रहेको कार्यालयमा सञ्चालन गरिएको अभिलेखीकरणको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक कार्यक्रमबीच शुभारम्भ गरे ।

प्रविधिमैत्री सेवाले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताउँदै उनले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइनमार्फत भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले भ्रष्टाचारलाई कम गर्ने उल्लेख गरे ।

नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई कागजरहीत बनाउन सहयोग पुग्ने उल्लेख गरे । महानगरका सूचना अधिकारी गङ्गालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरण मार्फत व्यवस्थित गरिने जानकारी दिए ।

महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर पूर्णबहादुर गुरुङले एक हजार वर्गफिटसम्मका घरको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताए। काठमाडौँको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सापासका अभिलेखलाई व्यवस्थापन गर्न लागेको कार्यक्रममा जानकारी दिइयो ।