सुदूरपश्चिम

ग्रामीण सडकमा गाडी नचलाउन आदेश

डोटी । बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयौँ स्थानीयवासीको अकालमै ज्यान जाने गरेको छ । धुलो, हिलो र साँघुरा सडकमा वर्षेनी सडक दुर्घटना बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ ।

विसं २०७१ असोज २१ गते जोरायल गाउँपालिकाको कठपत्रे भन्ने ठाउँमा भएको बस दुर्घटनामा ३१ को मृत्यु भयो भने ५९ घाइते भएका थिए । विसं २०७२ चैत ३० गते शिखर नगरपालिकास्थित जिजोडामाडौँमा भएको जिप दुर्घटनामा नौ जनाको मृत्यु भयो ।

विसं २०७४ साउनमा डोटीको गगुडामा जिप दुर्घटना भयो । त्यहाँ एउटै गाउँमा नौको मृत्यु भयो । त्यसैगरी विसं २०७५ जेठ १४ गते डोटीकै बोगटान गाउँपालिकास्थित गगुडामा पुनः अर्को जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाए भने १३ घाइते भए । सरकारद्वारा गठित छानबिन समितिले साँघुरो सडक, यात्रु बढी, भिरालो बाटो र रातिको समय भएका कारण दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

रातिको समयमा यहाँका ग्रामीण सडकमा बढी दुर्घटना हुने गरेको भन्दै स्थानीय प्रशासनले रातिको समयमा जिल्लाका कुनै पनि ग्रामीण सडकमा गाडी नचलाउन आदेश दियो । बानेडंग्रीसैन–जिजोडामाडौँ, बुडर–जोरायल, दिपायल–चवराचौतरा सडकमा सवारी सञ्चालन अनुमति छैन ।

सुदूरपश्चिम प्रदेशका अधिकांश ग्रामीण सडकमध्ये धेरैले अस्थायी अनुमतिसम्म पाएका छैनन् । यातायात सञ्चालनको अनुमति नपाएका सडकमा गुड्ने सवारीले जोखिम बढाएको छ । यी सडकले मापदण्डसमेत पूरा गरेका छैनन् ।

मापदण्ड पूरा नगरेका सडकमा चल्ने सवारीले बढी यात्रु ओसार्ने गरेका छन् भने दुर्घटनापछि घाइते तथा मृतकका आफन्तले पाउने राहतमा समेत समस्या आउने गरेको दिपायलका पूर्वनगर प्रमुख घनश्याम पाठकले बताए । उनले भने, “मापदण्ड विपरीतका सडकमा जथाभावी गाडी गुडाउँछन्, दुर्घटना भएपछि क्षतिपूर्ति लिन समस्या हुने गर्दछ ।” सवारी सञ्चालनको अनुमति नपाएका सडकमा दुर्घटना भएमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समस्या हुने उनको भनाइ छ ।

तोकिएको मापदण्ड पूरा नगरेका सडकमा सवारी सञ्चालनको अनुमति हुँदैन । यहाँको प्रशासनले राजनीतिक र जनताको दवावका कारण सवारी चलाउन दिएको बताउँदै आएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भने, “गाउँमा बाटो पुगेपछि सवारी सञ्चालनको माग आउँछ । माग पूरा नगरे जनताको दवावसमेत आउने भएकाले सञ्चालन गर्न अस्थायी अनुमति दिएका छौँ ।”

अहिले डोटीको बुडर–जोरायल सडक, दिपायल–बोगटान सडक, राजपुर–गडसेरा सडकमा सवारी सञ्चालनको अनुमति नै छैन । त्यस्तै डडेलधुराको बुडर–जोगबुढा सडक, बाजुराको तिपडा–मार्तडी सडकको अस्थायी अनुमति भए पनि बाँकी ग्रामीण सडकमा सवारी सञ्चालनको अनुमति नभएको यातायात व्यवस्था कार्यालय दिपायल राजपुरले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशभरिमा कूल १३३ ट्राफिक दरबन्दी रहेकामा बिदा काज गरी १२० दैनिक सडक जाँचमा हुन्छन् । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको पछिल्लो तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सवारी सञ्चालनको अनुमति पाएका चार हजार ७०३ किलोमिटरमा दैनिक सबैखाले गरी २७ हजारभन्दा बढी गाडी गुड्ने गर्छन् । यी सडकमध्ये ८९३ कालोपत्र सडक रहेको छ भने एक हजार ४९४ ग्राभेल र दुई हजार ३१६ किलोमिटर कच्ची अवस्था रहेको छ ।

सडक विस्तारसँगै दुर्घटनामा पनि निकै वृद्धि भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । हिसाब गर्दा एउटा ट्राफिकलाई ५० किलोमिटर सडक भागमा पर्छ । प्रतिदिन एउटा ट्राफिकले सरदर ५०८ गाडी जाँच गर्नुपर्ने बाध्यता रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको दुर्घटनाले सडक सवारी साधनको यात्रालाई असुरक्षित सावित गर्न थालेको छ । वर्षेनी सवारी दुर्घटना बढिरहेका भए पनि त्यसलाई न्यूनीकरण गर्न सकिएको छैन । विसं २०७३ साउन १ गतेदेखि विसं २०७५ फागुन १९ गतेसम्म मात्रै सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परी ३२४ को ज्यान गएको छ । सोही अवधिमा कम्तीमा पनि ६८४ घाइते तथा अङ्गभङ्ग भएका ट्राफिक प्रहरीको भनाइ छ ।

सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका प्रमुख केदार रजौरेले सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्नुमा जीर्ण सडक, भौगोलिक कारण, यान्त्रिक कारण र मानवीय कारण गरी तीन कारण रहेको बताए । उनले भने, “सडकको अवस्थामा सुधार गरेमा, सडक नाली निर्माण गरेमा, चेतावनीमूलक चिह्न निर्माण गरेमा र रात्रिसेवालाई निरुत्साहित र दिवा सेवालाई प्रोत्साहन गरेमा दुर्घटनामा कमी ल्याउन सकिनेछ ।”