प्रदेश 1

समय खेर नफाल्न मुख्यमन्त्री राईद्वारा कर्मचारीलाई निर्देशन

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चालू आर्थिक वर्षको बाँकी रहेको समय खेर नफाल्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगतिका विषयमा मन्त्रिपरिषद्मा आज भएको बैठकमा उनले चौमासिक प्रगति माग गरेका थिए ।

मुख्यमन्त्री राईले पाक्षिक रुपमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवलाई प्रगति समीक्षा गर्न निर्देशनसमेत दिए । उनले प्रत्येक महीना कामको प्रगति विवरणबारे मुख्यमन्त्री कार्यालयमा छलफल गर्नुपर्ने बताए । नीति, कार्यक्रम र बजेट शीर्षकमा रहेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले भने, “अरूबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको अन्त्य गर्नुपर्छ । दृढ इच्छाशक्तिका साथ काम गर्नुपर्छ । कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति बिगार्नु हुँदैन ।” मुख्यमन्त्री राईले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न कर्मचारीलाई निर्देशन दिए । उत्पादनमूलक, रोजगार तथा आयमूलक क्षेत्रमा खर्च गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपानेले सबै सचिवलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिए । उनले सबै सचिवलाई आ–आफ्ना मन्त्रालयबाट सम्पादन हुने काममा रुचिका साथ अघि बढ्न आग्रह गरे।