पु.समाचार

उम्मेदवारको दाबीः अब बारको दायित्व न्यायालयमा देखिएको भ्रष्टाचार नियन्त्रण गर्नु

काठमाडौँ । नेपाल बार एशोसिशनका उम्मेदवारले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो मुख्य कार्यसूची भएको बताएका छन् ।

नेपाल सञ्चार केन्द्रले आज बार निर्वाचनको सन्र्दभमा आयोजित ‘बारको निर्वाचन र अबका मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा एशोसिएशनका उम्मेदवारले न्यायालयमा हुने भ्रष्टाचार नै आफ्नो मुख्य कार्यसूची भएको बताएका छन् ।

कार्यक्रममा बारमा प्रगतिशी, पेशागत तथा समावेशी कानून व्यवसायी समूहतर्फका अध्यक्ष पदका उम्मेदवार चण्डेश्वर श्रेष्ठले न्यायालयमा बढेको भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

‘‘अहिले न्यायालयमा व्यापक भ्रष्टाचार मौलाएको छ, न्यायाधीश नियुक्ति र कार्यसम्पदानमा नै भ्रष्टाचार रहेको छ’’ उनले भने, ‘‘अबको बारको दायित्व न्यायालयमा देखिएको भ्रष्टाचार नियन्त्रण गर्नु हो ।’’ उनले न्यायाधीशको नियुक्ति व्यक्तिगत र राजनीतिक हुँदा स्वतन्त्र हुन नसकेको धारणा राखे । उनले न्यायाधीशको नियुक्ति न्यूनतम योग्यतामात्र नभएर प्राज्ञिक र नैतिक चरित्रवान हुनुपर्नेमा समेत जोड दिए ।

बृहत् लोकतान्त्रिक, समावेशी तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिलबहादुर पोखरेलले न्यायाधीश नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने धारणा राखे । ‘‘कुन न्यायाधीशको मुद्दा कुन परेको छ भनेर थाहा पाएपछि कस्तो फैसला आउँछ भन्ने थाहा हुन्छ’’ उनले भने, ‘‘त्यसैले न्यायाधीश नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्दछ ।’’

कार्यक्रममा प्रगतिशील समूहका तर्फबाट महासचिव पदका उम्मेदवार सुरेन्द्रबहादुर थापाले बार एशोसिएशनले मुलुक र समाज परिवर्तनको अग्रणी भूमिका खेलेको उल्लेख गर्दै आफूले बारलाई अझ प्रभावकारी बनाउने बताए ।

लोकतान्त्रिक समूहका महासचिव पदका उम्मेदवार लिलामणि पौडेलले स्वतन्त्र न्यायपालिका निर्भिक भ्रष्टाचारमुक्त हुनुपर्नेमा जोड दिए । उनले न्यायालयभित्रको भ्रष्टाचारलाई रोक्न आफू प्रतिबद्ध भएको भन्दै न्यायाधीशलाई गोलाप्रथाबाट पेसी तोक्ने प्रथाको अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा प्रगतिशील समूहका महिला उपाध्यक्ष पदका उम्मेदवार रक्षा बस्यालले महिलाका मुद्दालाई आफूले उठाउने बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता रुद्र नेपालले अबको बारले समाजवादउन्मुख न्यायप्रणाली विकास गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । उनले न्यायपालिका भित्रको विसङ्गति विकृतिलाई अन्त्य गर्नुपर्ने बताए । यहि चैत १६ गते देशभरी नयाँ नेतृत्वका लागि बार एशोसिएशनको निर्वाचन हुँदैछ ।