अन्तर्राष्ट्रिय

ब्राजिलका राष्ट्रपति अमेरिका भ्रमणमा

वासिङ्टन । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुगेका छन् । दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने समाचारमा जनाइएको छ । राष्ट्रपति बोल्सोनारोका मन्त्रिपरिषदका छ सदस्य पनि समावेश छन् । ब्राजिलका विदेश मन्त्री अर्नेस्टो आराउजो, अर्थ मन्त्री पाउलो गुडेस र कानुन मन्त्री सर्जेइ मोरो भ्रमण दलमा सहभागी छन्।

बोल्सोनारोले वासिङ्टनमा आइपुगेपछि गर्नुभएको ट्वीटमा भनेका छन्, “अमेरिका विरोधी नरहेका पहिलो राष्ट्रपति अमेरिका भ्रमणमा आइपुगेको छ । यो वर्षौंपछि पहिलो पटक हुन लागेको छ ।” राष्ट्रपति बोल्सोनारोको जनवरी १ मा कार्यभार सम्हालेयता कुनै राष्ट्रको पहिलो औपचारिक भ्रमण हो । यसअघि उहाँ गत जनवरीमा स्वीट्जरल्यान्डमा आयोजित डाभोस बैठकमा सहभागी भएको थिए। राष्ट्रपति बोल्सोनारो मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।

ह्वाइट हाउसको बाहिर दर्जनौं प्रदर्शनकारीले बोल्सोनारोको विरुद्धमा नाराजुलुस गरेका थिए । उनीमाथि अधिकारकर्मी मारिएला फ्रान्कोको हत्यामा संलग्न रहेको आरोप छ । प्रहरीले भने फ्रान्कोको हत्यामा राष्ट्रपतिको कुनै संलग्नता नरहेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र ब्राजिलका राष्ट्रपति बोल्सोनारो दुबैमाथि दक्षिणपन्थीको आरोप लाग्ने गरेको छ । अमेरिकी महादेशका यी दुई विशाल भूगोल र जनसंख्या भएका देशबीच पछिल्लो समय क्षेत्रीय मामिलामा एकमत देख्न पाइन्छ ।

भेनेजुएला सङ्कटका बारेमा संयुक्तराज्य अमेरिका र ब्राजिलले त्यहाँका विपक्षी नेता हुवाँ गुएइदोको समर्थन गरेका छन् । दुबै मुलुकले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्यूत गर्न चाहेका छन् । ब्राजिल फर्किएलगत्तै राष्ट्रपति बोल्सोनारोले चिली र मार्चको अन्त्यमा इजरायलको भ्रमण गनेृछन् ।