अन्तर्राष्ट्रिय

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

सिमफरोपोल । युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुगेका छन् । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले निन्दा गरेपनि अधिकांश रुसीले उक्त कदमको स्वागत गरेका छन् । रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो ।

क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृहको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्रेमलिनले जनाएको छ । रुसले इतिहासमा भएको एक गम्भीर भुल सच्याएको जनाउँदै क्रिमियालाई रुसमा गाभेको थियो । सोभियत नेता निकिता ख्रुस्चेभले सन् १९५४ मा क्रिमियालाई युक्रेन मातहत राखेका थिए । रुसले क्रिमियालाई पुनः फिर्ता लिएको भन्दै राष्ट्रपति पुटिनको लोकप्रियता बढेको थियो ।

तर युक्रेन र पश्चिमा मुलुकले रुसको उक्त कदमको आलोचना गरेका छन् । रुसले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा अघोषित रुपमा त्यहाँका विद्रोहीलाई आर्थिक, नैतिक, राजनीतिक र अरु सम्पूर्ण सहयोग गरिरहेको छ । रुसका पछिल्ला कदमका बिरुद्धमा धेरैवटा आर्थिक प्रतिबन्ध लागेका छन् । रुसमा मार्च १८ लाई क्रिमियाको पुनः एकीकरण दिवस भन्दै भव्य कार्यक्रम आयोजना गरिँदैछ । मस्कोमा करिब १० हजारको जुलुस निकाल्ने तयारी हुँदैछ ।