बाग्मती

कैदीबन्दीको आचरणमा सुधार ल्याउन विभिन्न सीपमूलक काम गर्न प्रेरित

बनेपा । जिल्ला कारागार धुलिखेलका कैदीबन्दी थुन्से, मुडा र पोते बुनेर आर्थिक आम्दानी गर्न थालेका छन् । कारागार प्रशासनले समयको सदुपयोग गर्दै कैदीबन्दीको आचरणमा सुधार ल्याउन विभिन्न सीपमूलक काम गर्न प्रेरित गरेपछि उनीहरु सीपमूलक काममा व्यस्त बनेका हुन् ।

बहुविवाह मुद्दामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका हिकमत सिं लामा भन्छन्, “दुई जनाले दिनमा ४०/४१ वटासम्म थुन्से बुन्दै आएका छौँ ।”

सो मुद्दामा बन्दी जीवनमा परेपछि त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने हेतुले चार महीना अगाडिदेखि यस्तो काम गरिरहेको लामाले बताए । चोया काट्ने, बीट गर्ने र बुन्नका लागि चकटी बनाउने काम फरक फरक व्यक्तिले गर्दछन् । त्यसरी काम गरे बापत दिनको रु १०० देखि १२० सम्म कमाइ हुन्छ । “कमाएको पैसाले जेल भित्रको खाना खाजाको अतिरिक्त बाँकी पैसा घरमा श्रीमतीलाई पठाउने गरेको छु ।” उनले भने ।

ज्यान मुद्दामा कारागारमा रहेका रामकृष्ण न्यौपानेले ६/७ महीना अगाडिदेखि थुन्से बुन्ने काम गरेको बताए । कारागारभित्रै थुन्से बुन्ने सीप सिकेको बताउँदै उनले सो कामबाट महीनाको दुई/तीन हजार आम्दानी गरेको बताए । “कमाएको सबै पैसा घरमा पठाउँछु”, उनले भने ।

त्यसैगरी बालविवाह मुद्दामा बन्दी जीवन बिताइरहेका राम दनुवार कारागार भित्रैको एउटा कुनामा मुडा बुनिरहेको भेटिए । दिनको एक दुईटासम्म मुडा बुन्ने गरेको उनको भनाइ थियो । “यही आएर मुडा बुन्ने सीप सिकेको हु, एउटाको २०० रुपैया मिल्छ, महीनामा काम हेरेर छ देखि आठ हजारसम्म कमाउँछु ।” कमाएको सबै पैसा घरमा पठाउने गरेको उनले बताए । मुडा बुन्न चार/पाँच जनाको आवश्यकता पर्दछ ।

अर्का बन्दी सुप्रिम वाइबाले १५ महीना अगाडिदेखि निरन्तर मुडा बुन्ने काम गर्दै आउएका छन् । त्यहीनै सीप सिकेर काम गरिरहनुभएका उनले दिनको रु १५० देखि २०० सम्म कमाउने गरेको बताए । “राम्रोसँग सीप सिक्न एक महीना लाग्यो ।” ग्रामीण विकास विषयमा कक्षा ११ मा अध्ययनरत उनले भने, “अहिले दिनको २/३ वटासम्म मुडा तयार गर्छु, यही पैसाबाट क्याम्पस पढिरहेको छु ।”

मुडा बुन्ने काम हेर्ने संयोजक सुरज थापाले एउटा मुडा बनाए बापत रु १६० पाउने गरेको बताए । सामान ल्याएको पैसा कटाएर बाँकी पैसा उनीहरुले नै पाउने गरेको उनको भनाइ थियो । बाँस, रङ्ग, धागो लगायतका सामान बाहिबाट ल्याएर बनाउने गरिन्छ । त्यसरी बनाएको एउटा मुडा चारसय ५० रुपैयामा बिक्री हुन्छ । त्यहाँ दिनको २५/३० वटा मुडा उत्पादन हुन्छ ।

पानी पर्दा कहिलेकाही रोकिनेबाहेक अरु बेला निरन्तर काम भइरहन्छ । थापाले भने, “कच्चा कदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले कहिलेकाही काम हुँदैन, त्यसबाहेक काम निरन्तर चलिरहेको छ ।” जिल्ला कारागार प्रमुख जंगबहादुर राईले कारागारमा कैदीबन्दी जीवन बिताइरहेकाको समय सदुपयोग गर्न सीपमूलक कामलाई प्राथमिकता दिएको बताए। आफू प्रमुख भएर आएको बेला २०/२५ जनाले मुडा र थुन्से बुन्ने काममा व्यस्त रहेको देखेपछि त्यसलाई बढावा दिँदै लागेको उनको भनाइ थियो । सीपमूलक कामले व्यक्तित्व विकास र आचरण सुधारमा सहयोग पुगेको छ ।

“भएका कैदीबन्दीमध्ये अहिले ४०/५० जना मुडा र थुन्से बनाउने काममा संलग्न छन्”, उनले भने, “दुई महीनादेखि पोते उन्ने काम भइरहेको छ ।” पोते उन्ने काम शुरुआती चरणमा भएकाले त्यति कमाउने अवस्था नभएको र अन्यमा भने कमाई राम्रो भइरहेको उनको भनाइ थियो । कारागारमा भएका २३० जनामध्ये ७९ थुनुवा ९बन्दी० र १५१ कैदी छन् । साप्ताहिक निरीक्षणमा काम गर्नेलाई उत्साह दिँदै आएको कारागार प्रमुख राईले बताए ।