लुम्बिनी

रजस्वलाका हुदा पनि नियमित रुपमा विद्यालय ल्याउन छात्राका लागि स्यानिटरी प्याड

बुटवल । रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘स्यानिटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको हो । नगरका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको संख्या तीन हजार ६५० छन् ।

रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्या देखिएपछि नगरपालिकाले सो रणनीति लिएको हो । यस कार्यका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरिएको नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् । प्रतिछात्रा १३६ का दरले स्यानिटरी प्याडका लागि विद्यालयलाई रकम उपलब्ध गराइएको नगरपालिकाका शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले बताए ।

कतिपय छात्राले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट सङ्क्रमणसमेत हुन सक्ने भएकाले पनि स्यानिटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयले प्याडको व्यवस्था मिलाएका हुन् । यसका लागि हरेक विद्यालयले एक जना महिला शिक्षकलाई ‘फोकल शिक्षक’ तोकेका छन् ।

स्यानिटरी प्याडको उपलब्धताले छात्राहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्रबहादुर क्षत्रीले बताए । नगरपालिकाले बजेट उपलब्ध गराएपछि चालू शैक्षिक सत्रबाट नै आवश्यकताका आधारमा निःशुल्क स्यानिटरी प्याड दिन थालेको उनले बताए । यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ । नगरपालिकाले नगरभित्रका दुई वटा बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई संघीय सरकारले उपलब्ध गराउने रकममा रु। पाँच सय थपेर दिने गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुनेले नियमित स्वास्थ्य परीक्षण गराएमा प्रोत्साहन स्वरुप रु। दुई हजार पाँच सय प्राप्त गर्ने गरेका छन् ।