बाग्मती

भरतपुरलाई पारोमुक्त स्वस्थ शहर घोषणा

चितवन । स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारो (मर्करी) मुक्त महानगर हुने भएको छ । स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो । विगत दुई वर्षदेखि पारोमुक्त बनाउन लागि परेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले भरतपुर पारोमुक्त घोषणा हुन मात्रै बाँकी रहेको जनाएको छ ।

संस्थाका कार्यकारी निर्देशक रामचरित्र साहले मानव स्वास्थ्यका लागि पारो घातक रसायन भएको बुझेसँगै अस्पतालमा यसको प्रयोग बन्द भएको बताए । यसै साता औपचारिक कार्यक्रम गरी भरतपुरलाई पारोमुक्त स्वस्थ शहर घोषणा गर्न लागिएको छ ।

पारोका कारण स्नायु प्रणाली, प्रजनन, पाचन, श्वासप्रश्वास, मुटु, मिर्गौलामा असर गर्ने उनले बताए । यससँगै अनिद्रा लाग्ने र यसको प्रभाव पुस्तौँसम्म पर्ने साहले बताए । उनका अनुसार जिल्लाका अस्पतालमा पारोयुक्त थर्मोमिटर हटेर डिजिटल थर्मोमिटर, पारोयुक्त रक्तचाप नाप्ने ‘बिपी सेट’ हटेर ‘एनोरोयड बिपी सेट’ प्रयोगमा आएका छन् ।

दाँतको उपचारमा प्रयोग भएको पारो अमल्गमको सट्टामा पारोरहित कम्पोजिट, ग्लास, आइनोभर वा कम्पोभर प्रयोगमा आएको उनले बताए । संस्था र नेपाल डेण्टल एशोसिएशनबीच पारोयुक्त उपकरण र सामग्री प्रयोग नगर्ने सहमति भई सोहीअनुसार देशभरका दन्त अस्पतालमा परिपत्रसमेत गरिसकिएको छ ।

अस्पतालबाहेक खेलौना, रङगरोगन, ब्याट्री, बल्बलगायतमा ठूलो मात्रामा पारो हुने गर्दछ । साहले सन् १९५७ मा जापानको मिनामातामा रसायन उत्पादन गर्ने उद्योगबाट निस्किएको पारोयुक्त फोहोर पानी समुद्रमा पठाउँदा माछा र सामुद्रिक जीवहरु निकै प्रभावित भएको बताए । सोही समुद्रको माछा खाएका छ हजार मानिसमध्ये त्यतिबेला नै तीन हजारको मृत्यु भएको भन्दै अन्यको सन्तानमा समेत समस्या देखिएको उदाहरण साहले दिए ।

नेपालमा पनि संस्थाले गरेको सर्वेक्षणमा सहभागी सबैमा पारोको प्रभाव देखिएको छ । सो संस्थाले पारोले प्रभाव पार्ने मूर्तिमा सुनको जलप लगाउने ३०, बेगनास ताल र फेवा तालमा माछा मार्ने ४० र देशभरका ५० जना दन्त चिकित्सकमा पारोको प्रभाव परीक्षण गरेको थियो ।