कर्णाली प्रदेश

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न बहस

सुर्खेत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने अभियान सफल नहुने बताए । उनले भने, “यसका लागि दलीय पहलकदमी जरुरी छ, नेताहरूले यो अभियानको अगुवाइ गर्न हुनुपर्छ ।”

अध्यक्ष रावतले प्रदेश विभाजनले कर्णाली र बाँके–बर्दियाबीचको भावनात्मक सम्बन्धलाई कमजोर बनाएको टिप्पणी गरे । कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीले एउटै अञ्चलमा रहेका बाँके–बर्दिया र सुर्खेतबीच व्यापारिक मात्र नभई सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का सदस्य नरेन्द्र शर्माले साझा सवालमा अलग प्रदेश भनेर मौन बस्न नहुने धारणा राखे । अन्तरक्रियामा व्यवसायीले अन्य जिल्लाको कर्णालीको राजधानी सुर्खेतसँग दूरी छोटिँदै गए पनि प्रादेशिक विभाजनले भावनात्मक दरार उत्पन्न गराएको बताए । व्यवसायीले औद्योगिक विकासका लागि सुर्खेतलाई दक्षिणी नाका तथा बाँके–बर्दियालाई प्रशासनिक छरितोका लागि सुर्खेत आवश्यक पर्ने निचोड निकालेका थिए ।