गण्डकी प्रदेश

विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा ‘एसइई’मा सहभागी हुनबाट वञ्चित भएका छन् ।

पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् ।

वञ्चित हुनेमध्ये पाँच धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये पाँच जनाको पनि हाजिरि नपुगेकाले अयोग्य भएका छन् ।

एसइईमा म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरी कूल दुई हजार २४२ परीक्षार्थी सहभागी हुने उक्त एकाइ प्रमुख बुढाथोकीले बताए । तीमध्ये दुई दृष्टिविहीन विद्यार्थी पनि छन् ।

यसैगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परीक्षाको समयमा महीनावारी हुने छात्राको सहजताका लागि म्याग्दीसहित प्रदेशका २१७ वटा परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । कूल छात्रा सङ्ख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरीद गर्न रकम उपलब्ध गराइएको उक्त मन्त्रालयका अधिकृत विष्णुमाया पौडेलले बताए ।