खेलकुद

मुख्यमन्त्री कप महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

धनगढी । प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटको उपाधि आइतबार सुदूरपश्चिम प्रदेशले जितेको छ । यहाँ सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशको महिला क्रिकेट टोलीले प्रदेश नं १ को महिला क्रिकेट टोलीलाई आठ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले दिएको ११६ रनको विजय लक्ष्य आयोजक सुदूरपश्चिम प्रदेशले १७ ओभरमा ११८ रन बनाइ पूरा गर्यो । सुदूरपश्चिमको जीतमा कविता कुँवरले नटआउट ३९, रेवती धामीले ३० र विन्दु रावलले अविजित २३ रन बनाए । शुरुआती ब्याटिङमा रुबी पोद्दारले १२ रनको योगदान दिए ।
a
यसअघि प्रदेश नं १ ले निर्धारित २० ओभरमा दुई विकेटको नोक्सानमा ११६ रन बनाएको थियो । रोमा थापाले अविजित ४१ रन बनाए पनि जीतका लागि पर्याप्त हुन सकेन । काजोल श्रेष्ठले २०, रुविना क्षेत्रीले १४, अप्सरा बेगमले नटआउट १७ रनको योगदान दिए ।

बलिङ गर्दै सुदूरपश्चिमलाई जानकी भट्ट र ईश्वरी विष्टले एक÷एक विकेटको सफलता दिलाएकी थिइन। मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा प्रदेश नं ३ लाई २२ रनले पराजित गरी प्रदेश नं ५ तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी कविता कुँवर ‘प्लेयर अफ दी सिरिज’ र ईश्वरी विष्ट उदीयमान खेलाडीको उपाधि प्राप्त गर्न सफल भइन् । ‘बेस्ट बलर’को उपाधि प्रदेश नं ५ का कृतिका मडासैनी र ब्याटिङमा प्रदेश नं १ का रोमा थापा सर्वोत्कृष्ट भइन् ।