विचार/ब्लग

पात्र फरक तर प्रबृति झन खतरनाक

यसोदा कार्की/हाम्रो समाज बिचित्रको छ । स्वार्थ र बिज्ञापनको मोहमा समाज सेवा गरेको भनेर देखाउनेहरुको भिड दिन प्रतिदिन बढ्दै गईरहेको छ । शहरमा होस् वा गाँउमा, प्रचारमुखी समाज सेवाको प्रत्यक्ष प्रभाब ब्याप्त रहेको पाईन्छ । यहाँ हरेक मानिसलाई कुनै न कुनै बहानामा चर्चामा रहनुपर्ने, प्रचार–प्रसारमा रमाउनु पर्ने र समाजमा स्थापित हुनुपर्ने होडले गर्दा हाम्रो समाज परिवर्तनमुखी होइन प्रचारमुखी भएको छ ।

हामीकहाँ राजनीतिको आवरणमा रहेका व्यक्तिहरुको सोच, चिन्तन, व्यबहार, कार्यशैली र क्षमताको कारणले गर्दा उनीहरुले देखाएको बाटोमा, उनीहरु हिँडेको मार्गमा सिङ्गो समाज हिड्न सक्ने अवस्थामा छैन । राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गर्नेहरुको खडेरीले गर्दा समाजमा सबैतिर निरासा नै निरासाले छाएको छ ।

संसारमा समाजलाई बाटो देखाउने भनेको राजनीतिले हो । तर हामीकहाँ राजनीतिको आवरणमा रहेका व्यक्तिहरुको सोच, चिन्तन, व्यबहार, कार्यशैली र क्षमताको कारणले गर्दा उनीहरुले देखाएको बाटोमा, उनीहरु हिँडेको मार्गमा सिङ्गो समाज हिड्न सक्ने अवस्थामा छैन । राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गर्नेहरुको खडेरीले गर्दा समाजमा सबैतिर निरासा नै निरासाले छाएको छ । राजनीतिको केन्द्रमा रहेका केही नेताका प्रतिनिधि घटनाहरुलाई मात्र हेर्ने हो भने पनि सबै कुराको उजागार हुन्छ ।

राजनीतिमा निष्ठा र त्यागको भावना चाहिन्छ । यस्ता कुराहरुको गुण हामीले आदर र सम्मान गर्ने नेताहरुमा कमैमा मात्र पाईन्छ । राजनीतिक दलका नेताहरु जो आफ्नो घर–परिवारबाट अलग रहन खोज्छन्, साथीभाईसँगको सम्बन्ध तोड्न खोज्छन् र आफ्नो जन्मभूमीबाट नै घृणाको पात्र बन्दछन् त्यस्ता व्यक्तिहरुबाट नै हामी सबैले बाध्यताको साथ परिवर्तनको पाठ सुन्नु पर्दछ । हाम्रो समाजको र हामी नेपालीको यो भन्दा बिडम्बना अरु के हुन सक्दछ । त्यस्ता पात्रहरुले राष्ट्रको उन्नती र मुलुकको परिर्वनको लागि राजनीतिमा कस्तो किसिमको योगदान दिन सफल होलान् । समाज परिर्वतनको दिशामा उनीहरुबाट मुलुकले के सिक्न सक्ला ?

 

‘राजनीति सेवा हो, पेशा होईन’

 

हाम्रो समाजमा राजनीतिलाई पेशाको रुपमा चित्रण र परिभाषित गरिएको छ । राजनीतिलाई कसैले पनि पेशा बनाउनु हुदैन र पेशा होईन । बलिदान, निष्ठा र त्यागको भावनाबाट टाढा रहनेहरुबाट आज समाज डोहोरिनु पर्ने बाध्यता छ । यस्तो मनोभावना भएका व्यक्तिहरुबाट समाजमा बस्ने आम नागरिकले कस्तो अपेक्षा र आशा राख्छन् होला ? हाम्रो समाजमा राजनीतिबाट उदाएर समाज सेवा गर्ने भन्दा पनि जागिरे अड्डाका रुपमा राजनीतिलाई लिने गरिएको छ । यसरी राजनीतिलाई पेशाको रुपमा हेरेर लग्नेहरुले समाजमा कुनै योगदान र परिर्वतन गर्न सक्दैनन् । जहाँ नाफा र घाटाको ब्यापार हुन्छ त्यहाँ धेरै नाफा कमाउने होड हुन्छ नै । आफु सत्तामा रहदाँ धेरै नाफा कमाउने होडमा नीति– नियम, कानून र संबिधान भन्दा बाहिर गएर जस्तोसुुकै कर्म गर्न पनि कुनै कसुर बाँकी नराखेको हामीले पटक–पटक देखिसकेका छौं । यस्ता किसिमका पात्रहरुबाट गरिएको राजनीतिमा न त राजनीतिक संस्कारको बिकास हुन्छ न त राजनीतिक रुपमा कुनै किसिमको परिवर्तनको आभास हुन्छ । मुलुकमा सम्पन्न भएका ठूला–ठूला परिर्वतनपछि हाम्रो समाज र समाज सेवाको स्वरुपमा पनि आमुल परिवर्तन भएको छ । समय बित्ने क्रममा यस क्षेत्रमा लाग्ने खेलाडीहरुको बदलिदो जीवनशैली र भँडकिदो राजनीतिक प्रणालीको प्रभावले गर्दा सामाजिक सेवाको भावानामा प्रश्नचिन्ह खडा भएको छ ।

हाम्रो समाजमा नारामा धेरै परिवर्तन आयो तर ब्यवहारमा परिर्वतन आएन । समय फेरियो, दिन फेरियो तर देशले खोजेको परिर्वतन फेरिएन । नेपाली जनतामा रहेको गरिबीको खाडलको अन्तर झन बढेर गएको छ । हुँदा खाने र हुने खाने बिचको खाडल बढेका कारण देशभक्त नेपाली जनताको आशामा तुसारापात भएको छ ।

बदलिदो जीवनशैली र भँडकिदो राजनीतिक प्रणालीको प्रभावले गर्दा मुलुकमा भ्रष्टाचार मौलाएर गएको छ । भ्रष्टाचार भएको देखिरहदाँ पनि भ्रष्टाचारको नियमन गर्ने संस्थाले मौन रहेर हेरिरहनु पर्ने बाध्यता छ । सामाजिक परिर्वतन र आधुनिकतावादका कारणले हाम्रो समाजमा हत्या, हिसां र आतंकको घटनामा कुनै कमी आएको छैन । अपराधिक घटनाहरु बढेर गएको देख्दा समाजमा हामीले जतिसुकै ठूला–ठूला परिवर्तनका कुरा गरेता पनि हामी आफैैंबाट परिवर्तनको दिशामा खेलेको भूमिकामा कुनै न कुनै ठाँउमा कमजोरी भएको हो की भन्ने आभास गराउँदछ ।

समाजलाई परिवर्तन गराउनको लागि सबैभन्दा पहिला स्वंयम् आफैं परिर्वतन हुन जरुरी छ । ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर त्याग, निष्ठा र समर्पण भावकासाथ हामी अगाडी बढ्न सक्यौं भने मात्र समाज परिवर्तनको दिशामा मडारिएको बादल फाट्ने छ । लोभ, क्रोध, घमण्ड, माया र सद्भाव जस्ता कुराहरु हाम्रो समाज, हाम्रो राजनीति र हाम्रो व्यवस्थामा परिवर्तनको लागि बाधक बनेर आएका छन् । हिजोको शासन व्यवस्थामा जनताको शासन भएन भनेर परिर्वतनकारी आन्दोलनमा राजनीतिक दलहरुलाई नेपाली जनताले पटक–पटक समर्थन र साथ दिएका छन् । रगतको खोला बगेको छ । अहिले सामान्य परिवारमा जन्मेका जनताका छोरा–छोरीहरु राजनीतिको केन्द्रमा छन् । शासन सत्ताको केन्द्रमा छन् । नेपाली जनताले पटक–पटक राजनीतिक दललाई दिएको त्यो साथ यस्तै किसिमको बेथिति र अराजकता हेर्नको लागि थिएन । समाज सेवामा लागेको व्यक्ति र राजनीतिक पात्र सबैको भरोसाको केन्द्र बन्न सक्नुपर्दछ । गान्धीपथलाई आत्मासाथ गर्न सक्नुपर्दछ । नेपाली जनताले अहिलेको यस्तै भद्रगोल अवस्थालाई हेर्नको लागि राजालाई फ्यांकेका थिएनन् । आज हामीले पात्र मात्र फरक–फरक देख्ने गरेका छौं । तर प्रबित्ति भने झन खतरानाक रुपमा पैदा भएको पाईन्छ ।

अहिले अनेक प्रकारका पात्रहरुका कारण झन जनतामा निराशा बढेको देख्न पाईन्छ । हाम्रो समाजमा नारामा धेरै परिवर्तन आयो तर ब्यवहारमा परिर्वतन आएन । समय फेरियो, दिन फेरियो तर देशले खोजेको परिर्वतन फेरिएन । नेपाली जनतामा रहेको गरिबीको खाडलको अन्तर झन बढेर गएको छ । हुँदा खाने र हुने खाने बिचको खाडल बढेका कारण देशभक्त नेपाली जनताको आशामा तुसारापात भएको छ । त्यसकारण आज परिवर्तनका सम्बाहकहरुले वास्तविक धरातलमा उभिएर धेरै कुराको लेखाजोखा गर्नु जरुरी छ । आजको मुल आवश्यकता यही हो । नत्र भने मुलुकको बागडोर समाल्नेहरु प्रतिको अविश्वासका खाडल आम जनमानसमा झन बढेर जानेमा दुई मत हुँदैन । त्यसैले राजनीतिलाई प्रदुषित नबनाई राजनीति सबैको आस्था र विश्वासको केन्द्रको रुपमा विकास गरी समाजको ऐनाको साबित गराउन सक्नु पर्दछ ।