खेलकुद

माईभ्याली गोल्डकप: हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश

फिक्कल । हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज कांकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (मेची नेत्रालय) झापालाई शून्यका विरुद्ध तीन गोल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जीतका लागि हिमालयनका तर्फबाट खेलको पहिलो हाफको इञ्जुरी समयमा जर्सी नं १७ का त्रिदेव गुरुङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको १७ औँ मिनेटमा हिमालयका जर्सी नं ४ का रवि थापाले गरेको प्रहार झापाका जर्सी नं १५ का विष्णु सुनुवार खुट्टामा लागेर गोलमा परिणत भएको थियो । पुनः दोस्रो हाफको इञ्जुरी समयमा हिमालयनका जर्सी नं १३ का बिसन गुरुङले थप एक गोल गर्दै हिमालयनले माईभ्याली गोल्डकपको फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

झापाका खेलाडीले थुप्रै पटक गोल गर्ने अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन् । अन्ततः झापा सेमिफाइनलबाटै बाहिरिन पुग्यो । खेलको ‘म्यान अफ दी म्याच’ हिमालयनकै गोल किपर किशोर गिरी घोषित भए । उनले नगद १० हजारसहित मेडल प्राप्त गरे ।

फाइनल मङ्गलबार हिमालयनले अफ्रिकन मुलुक क्यामरुनको दाउफिन्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । क्यामरुनले सेमिफाइनलमा नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।