कर्णाली प्रदेश

महिनौदेखि अवरुद्ध नाग्म–गमगढी राजमार्ग सञ्चालनमा

खलङ्गा । भारी हिमपातका कारण दुई महीनादेखि अवरुद्ध नाग्म–गमगढी राजमार्ग सञ्चालन हुन थालेको छ । हिमपातले बाटोमै पाँच फिट हिउँ परेका कारण बन्द भएको सडक डिभिजन कार्यालयको पहलमा शुरु भएको हो ।

डिभिजन कार्यालयका डोजरले हिउँ पन्छाउँदै बाटो खुलाएको हो । लामो प्रयासपछि डोजर हिउँ पन्छाएर बाटो खुलेको सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर श्रवणकुमार महताराले जानकारी दिए । उनका अनुसार बाटो खुलेपछि केही सवारीसाधन मुगु जान थालेका छन् ।

सडक डिभिजन कार्यालयले एक महीनादेखि बाटो खुलाउन डोजरमार्फत प्रयास गरिए पनि निरन्तर हिमपात भएकाले समस्या भएको उनको भनाइ छ । बाटो खुलाउन माघ १७ गतेदेखि सडक डिभिजन र जेसिभीका कर्मचारी खटिएका थिए ।

मुगु खण्डको आर्मी क्याम्पदेखि झारनाउलासम्म हिउँ पन्छाएपछि गाडी पुगेको छ । दुई महीनापछि गाडी पुगेपछि भने मुगुमा दैनिक उपभोग्य सामान सहज हुने भएको छ । दुई महीनादेखि बाटो बन्द भएका कारण दैनिक उपभोग्य सामानको अभाव भएको छ भने अर्कोतिर आवतजावतमा ठप्प भएकाले समस्या भएको थियो ।

यसैगरी हिमपातका कारण बाटो अवरुद्ध भएपछि यात्रु मुगु र जुम्लामै बस्न बाध्य थिए । बाटो खुलेपछि अब साना सवारी मुगु आउन–जान थालेका छन् । सिञ्जाको गुठीज्यूला भुलभुले घुच्चिलेकदेखि पिनासम्मको करीब ३० किलोमिटर हिउँले ढाकिएको र खुलाउन मुगु प्रशासनसमेत समन्वय गर्दै आएको थियो ।

बाटो खुलाउन हर प्रयत्न भएको मुगुका प्रजिअ अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । सांसद र स्वयं आफू हिउँ पन्छाउँदै मुगु पुगेको प्रजिअ घिमिरेले जानकारी दिए । उनका अनुसार अझै पनि डोजर प्रयोग गरेर यात्रा सजिलो गर्न प्रयास भइरहेको छ । हिउँ पन्छायो, फेरि माथिबाट पहिरो आउने गरेकाले समस्या बनाइरहेको छ । अझ पनि जुम्ला र मुगु क्षेत्रमा दुई वटा डोजर तयारीमा राखिएका छन् । अब एक–दुई दिनमा ठूला सवारी पनि मुगु पुग्ने प्रजिअ अधिकारीले बताए ।