समाचार

सबैको सहमति जुटाउन पहल गर्छौं: सभामुख महरा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सभामुख कृष्णबहादुर महरालाई तुलसीपुर क्षेत्रका आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना बुझाएका छन् ।

नगरप्रमुखको कार्यकक्षमा भएको भेटमा सभामुख महराले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सबै सांसदसँग छलफल गरेर महत्वपूर्ण योजना बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सभामुख महराले भने, “यहाँँ प्रस्तुत भएका योजनाप्रति म आजदेखि नै पहल गर्नेछु ।” उनले मदन भण्डारी राजमार्गको सवालमा केन्द्रमा निर्णय नभएको उल्लेख गर्दै जुन ठाउँमा राजमार्ग भए पनि अर्को ठाउँलाई बेवास्ता नगरिने बताए ।
“दाङलाई राजमार्गले छोएर रोल्पामा नयाँ राजमार्गको विकल्प निकाल्ने र रोल्पामा नयाँ राजमार्गले छोए दाङमा नयाँ राजमार्गको विकल्प निकालिने छ” उनले भने । सभामुख महराले विमानस्थलको धावनमार्ग विस्तारका साथै इन्धन डिपोका लागि समेत पहल गरिने बताए । उनले उपमहानगरपालिकाले योजना कार्यान्वयनको माग गर्दै अन्य स्थानीय तहभन्दा पहिले नै योजना बुझाएकामा खुशी व्यक्त गर्दै योजनामा सबैको सहमति जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

नगरप्रमुख पाण्डेले तुलसीपुर प्रशासनिक हिसाबले कुनै पनि केन्द्रका रूपमा नरहेको बताउँदै अन्य क्षेत्रभन्दा यहाँको विकासमा ध्यान दिन महरालाई आग्रह गरेका थिए । उपमहानगरपालिकाको ५३औँ कार्यपालिका बैठकले केन्द्रमा बुझाउन ४१ ठूला प्रकृतिका योजना पारित गरेको थियो ।