अन्तर्राष्ट्रिय

थाइल्याण्डमा ठूलो भिडभाडका साथ देशभरी नमुना मतदान जारी

बैङ्कक । थाइल्याण्डमा आइतबार विहानैदेखि ठूलो भिडभाडका साथ देशभरी नमुना मतदान जारी रहेको छ । मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङ स्थल, मन्दिरलगायतका ठाउँमा हजारौँको संख्यामा मतदाताहरुको लाईन लागेका छन् । विगत आठ बर्षपछि थाईल्याण्डमा अहिले निर्वाचन हुन लागेको हो । एक हप्तापछि यही मार्च २४ तारिखका दिन हुने निर्वाचनका लागि अहिले गरिएको नमुना मतदानमा झण्डै २३ लाख जनाले मतदान गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१४ मा तत्कालिन प्रधानमन्त्री यिङ्लक सिनावात्रादेखि अहिलेसम्म पटक पटक निर्वाचन सर्दै आएकोमा आइतबार मात्रै नमुना मतदान भएको हो । मतदाताहरुलाई सरकारी कर्मचारी, सैनिकसहितका सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु, विद्यार्थी र स्वयमसेवकहरुले सघाइरहेका थिए । मतदान भइरहेको एउटा विद्यालयमा थाई राजा माहावाजिरालोङकोर्न पनि पुगेर अवलोकन गरेको बताएका छन् ।  अत्यधिक बृद्ध भएका ९८ बर्षीय राजा महााभाजिलोङ्कनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि उच्च प्राथमिकता दिएका छन् ।

मार्च २४ तारिखका दिन हुने वास्तविक निर्वाचनका लागि देशभरी पाँच करोड दश लाख भन्दा बढी मतदाता रहेका छन् ।  ती मध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने भएका छन् । आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् । मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन् ।

निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका निर्वाचन आयोगले जनाएको छ ।
थाइल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ । थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टी भने यो निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले विघटन गरिदिएपछि निर्वाचनमा भाग लिनबाट बञ्चित भएको हो । पूर्वनिर्धारित कार्यतालिका अनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन दुई हप्ता बाँकी रहँदा अदालतले सो पार्टी विघटनको फैसला गरेको थियोे । थाई राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ ।

संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको थियो । थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गरेका थिए । तर निर्वाचन आयोगले भने उहाँलाई उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेपछि उनी आफ्नो निर्णयबाट पछाडी हट्नु भएका थिए । उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उनलाई अयोग्य घोषणा गरेको हो ।

राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइअनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो । थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आशयलाई पालना गरेको पाइन्छ । आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफू उम्मेदवार नबन्ने बताएका थिए । अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेताहरुलाई एक दशकसम्म राजनीतिमा प्रतिबन्द पनि लगाएको छ ।