बाग्मती

पत्रकार सुवेदीको उपचारार्थ सहयोग कार्यक्रमबीच हस्तान्तरण

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको अगुवाइमा पत्रकार अर्जुन सुवेदीको उपचारार्थ सङ्कलित रु एक लाख पाँच हजार ११३ हस्तान्तरण गरिएको छ ।

महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरियो । सहयोग रकम हस्तान्तरण गर्दै महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले कोरिया शाखालाई धन्यवाद दिए । रकम ग्रहण गर्दै पत्रकार सुवेदीले शुभचिन्तक तथा सहयोगीलाई आभार व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले कोरिया शाखाको उदाहरणीय कामको उच्च मूल्याङ्कन गर्दै पुण्य कामले पत्रकारको मनोबल उच्च बनेको बताए ।

नागरिक दैनिकमा आवद्ध पत्रकार सुवेदी कलेजो र पित्तथैलीको समस्याका कारण एक वर्षदेखि उपचाररत छन् । हालसालै एकैसाथ गरिएका दुईवटा जटिल शल्यक्रियापछि पनि थप उपचारका लागि धेरै रकम आवश्यक पर्ने देखिएको छ ।

उनको उपचारको सहयोगार्थ महासङ्घ दक्षिण कोरिया शाखाले एकहप्ते अभियान चलाएको थियो । कोरियामा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार, सामाजिक अभियन्ता, शुभेच्छुक सङ्घ संस्थाले सहयोग गरेका थिए ।