सुदूरपश्चिम

सडक निर्माणमा आवश्यक ध्यान नराखी ढलान कार्य शुरु

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी बजार क्षेत्रलाई व्यवस्थित गर्न निर्माण हुन लागेको सडक निर्माण अस्तव्यस्त बनेको छ । सडक निर्माणमा आवश्यक आधारभूत विषयलाई समेत ध्यानमा नराखी बिजुलीका खम्बा नै नहटाएर ढलान कार्य शुरु गरिएको प्रति स्थानीय आक्रोशित बनेका छन् ।

हाल मार्तडी बजार क्षेत्रभित्रको ३५४ मिटर सडक निर्माण कार्य भइरहेको छ । बीच सडकमा रहेका बिजुलीका खम्बा, सडकमा परेका केही स्थानीयका घर हटाउन नमान्दा निर्माण कार्य अस्तव्यस्त बनेको छ ।

बिजुली हटाउन पटकपटक आग्रह गर्दा पनि नगरपालिकाले वास्ता नगर्दा पोलमै ढलान गर्नुपर्ने बाध्यता आएको ठेकेदार विजय पण्डितले बताएका छन् । उनका अनुसार बिजुलीका पोल नहटाउनुको समस्या एकातिर रहेको र अर्कोतिर व्यापारी अर्जुन थापा, मिना थापा, शङ्कर बोहोरा र काल्चे दमाईंले जग्गा नदिँदा निर्माण काम नै अस्तब्यस्त बनेको बताएका छन् ।

प्राविधिकरुपमा पनि बिजुलीका पोलसमेत नहटाएर सडक ढलान गर्नु त्रुटिपूर्ण कार्य भएको इञ्जिनीयरको भनाइ छ । उसो त बिजुली पोलको व्यवस्थापन गर्नका लागि नगरपालिकाले त्रिवेणी सहकारीलाई रु पाँच लाख दिएको बुझिन आएको छ । योबारेमा सूचना माग्न खोज्दा नगरपालिका इञ्जिनीयर महेन्द्र विष्टले त्रिवेणीलाई सोध्नुपर्ने जवाफ दिएका छन् ।

त्रिवेणी सहकारी संस्थाका व्यवस्थापक दयाराम पण्डित भने, “नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसक्दा काम नभएको बताएका छन् ।
नगरपालिकाका उपप्रमुख कविता विष्टले व्यवस्थापन गर्न समस्या भएको र यसबारे नगर प्रमुखलाई नै सोध्नुपर्ने बताउनुभएको छ । निर्माणका लागि कम्पनीले गएको जेठमा सम्झौता गरेको थियो । पुस मसान्तभित्र कामसक्ने गरी सम्झौता गरिए पनि चैत लागिसक्दा आधा पनि पूरा भएको छैन । नगरपालिकाले ठाउँको व्यवस्थापन गर्न नसक्दा समयमै काम गर्न नसकेको ठेकेदारको भनाइ छ ।