सुदूरपश्चिम

पिनालेख पाटा हुँदै खप्तडछेडेदह जोड्ने सडक शिलान्यास

मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–१ मा शनिबार मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हुँदै खप्तडछेडेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर सडक शिलान्यास भएको छ ।

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको वडाध्यक्ष रामबहादुर कार्कीले बताए । लामो समयदेखि राजनीतिक विवाद र पहिरोका कारण सडक निर्माण कार्य रोकिएको थियो । खप्तडछेडेदह गाउँपालिका जोड्न सडकदेखि निर्माण कार्य शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रभते कार्कीले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताए । सडक निर्माणका लागि नगरपालिकाले यस आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको नगरपालिका उपप्रमुख कविता विष्टले जानकारी दिए ।

गाउँमा सडक पुग्ने भएपछि स्थानीयवासीमा खुशी छाएको छ । घण्टौँ हिँडेर सदरमुकाम जानुपर्ने बाध्यतासमेत हट्ने स्थानीय गङ्गा कार्कीले बताए । उनले स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँमै स्वास्थ्य संस्था, इन्टरनेट सेवा र सडक निर्माण कार्यमा तीव्रता आएको बताए ।