बाग्मती

रक्तदान कार्यक्रममा वृद्धि

काठमाडौँ । ब्लड डोनर्स एशोसिएशन नेपालले युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाको परिचय प्रवद्र्धनका साथै रक्तदान गरौँ भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू, बौद्ध, चाँगुनारायण, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको सो संस्थाले शनिबार पत्रकार सम्मेलनमा जनाएको छ ।

संस्थाका उपाध्यक्ष सूर्यलाल महर्जनले नेपालमा रक्तदानको महत्व बढ्दै गएको बताउँदै रक्तदानबाट मानिसको जीवन रक्षाका लागि सहयोग मिल्ने बताए । देशभरि रक्त अभाव हुन नदिन र रगतको मागलाई परिपूर्ति गर्ने गरी संस्थाले जनचेतनामूलक कार्यक्रम अघि सारेको पनि महर्जनले बताए । महर्जनले अहिलेसम्म १०० पटक रक्तदान गरिसकेका छन् ।

संस्थाको काठमाडौँ शाखाका सचिव अनिलरत्न तुलाधरले नेपाल मात्रै नभएर भारत, बङ्गलादेश, पाकिस्तान, चीनलगायतका विश्वका जुनसुकै देशमा नेपालबाट रगत उपलब्ध गराइरहेको बताए । उनले भने, “हामीले नेपालबाट रगत दान गरिसकेका छौँ । हाम्रो संस्थाकै समकक्षी भारतीय संस्थाको सहयोगमा रगत उपलब्ध गराउने काम भइरहेको छ ।” तुलाधरले आफूले भाइवर, इमो, फेसबुक मेसेन्जरलगायतका सामाजिक सञ्जालमार्फत रगत उपलब्ध गराउँदै आएको जानकारी दिए ।